
काठमाडौं । कोरोना संक्रमणको जोखिम पुनः बढ्न थालेपछि उपत्यकामा सतर्कता अपनाउन तयारी सुरु गरिएको छ।
सोही विषयमा छलफल गर्न आइतबार जिल्ला प्रशासन कार्यालयहरू भक्तपुर र ललितपुरले छुट्टाछुट्टै बैठक राख्दै छन्।
दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालयमा बैठक बोलाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।
आज हाम्रो जिल्लामा कोरोना संक्रमण जोखिमको अवस्था कस्तो छ भनेर छलफल हुन्छ। त्यसपछि सीसीएमसीको निर्देशनअनुसार निर्णय गर्छौं’, प्रमुख जिल्ला अधिकारी शर्माले भनिन्।
उनका अनुसार छलफलमा स्वास्थ्य र सुरक्षा निकायका प्रतिनिधिसँगै जिल्लाका कार्यालय प्रमुख सहभागी हुनेछन्। यस्तै ललितपुर जिल्ला प्रशासन कार्यालयले पनि सोही समयमा बैठक राख्दै छ।
आज दिउँसो २ बजे बस्ने खोप समितिको बैठकमा जिल्लामा पछिल्लो समय देखिएको संक्रमणको अवस्था र त्यसलाई रोक्न आवश्यक निर्णयबारे छलफल हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।
‘हाम्रो नियमित खोप समितिकै बैठक थियो। त्यहीँ हामी जिल्लामा देखिएको पछिल्लो संक्रमणको जोखिम र त्यसका लागि चाल्नु पर्ने कदमका बारेमा छलफल गर्छौं। केही दिनभित्रमा थप सतर्कता अपनाउनका लागि निर्णय गर्नुपर्ने हुनसक्छ’, उपाध्यायले भने।
यता जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भने आइतबार यस विषयमा छलफल नरहेको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए। सुरुमा तीनवटै जिल्ला प्रशासनले छुट्टाछुट्टै छलफल गर्ने र पछि संयुक्त बैठक बसेपछि मात्रै उपत्यकामा कोरोना संक्रमण रोक्न कस्तो सतर्कता अपनाउने भन्नेबारे निर्णय लिइने भएको छ।
संयुक्त बैठक केही दिनमै बस्ने तयारी छ।
पछिल्लो समय नेपालमा पनि नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढ्दै गएको छ।
साभार ः नेपालखबर
