बाघको आक्रमणबाट बाँकेको राप्तीसोनारीमा एक महिलाको मृत्यु

२२ पुष २०७८, बिहीबार १५:३५

काठमाडौं । बाघको आक्रमणबाट बाँकेको राप्तीसोनारीमा एक महिलाको ज्यान गएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ प्रसोहनाकी ५१ बर्षीया तिला विष्टको ज्यान गएको हो । आज बिहान ११ बजेतिर स्थानीय जङ्गलमा स्याउला लिन गएकी उनलाई बाघले आक्रमण गरेको थियो । उनको शव जलहन खोलाको माथि घट्टखोलामा फेला परेको हो ।

शुरुमा उनीसँगै गएकी अर्की महिलालाई बाघले खुट्टामा आक्रमण गरेको थियो । तर, उनी भाग्न सफल भइन् । त्यसपछि बाघले विष्टलाई आक्रमण गरेको स्थानीयले बताएका छन् । उनलाई घाँटीमा झम्टेर बाघले आक्रमण गरेको थियो । घाँटीबाट रगत चुसेको अवस्थामा उनको शव भेटिएको छ ।

हिजो मात्रै राप्ती सोनारी ४ गौरी सामुदायिक जङ्गलमा बाघले अर्की एक जना राप्ती सोनारी ४ नयाँ बस्तीकी ३० बर्षीया दुर्गा थारुलाई आक्रमण गरेको थियो तर उक्त आक्रमणको प्रतिकार गर्दै सकुशल बाच्न सफल भएकी थिइन।