१ करोड ७९ लाख ९० हजार ८ सय ४० रुपैयाँ बराबरको चियापत्ती नष्ट

२० पुष २०७८, मंगलवार ०९:२४

काठमाडौं । मकवानपुर, बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड हेटौंडा–३ बसामाडीमा भेटिएको म्याद गुज्रिएको करिब ७१ टन चियापत्ती नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुगमनका क्रममा युनिलिभरमा भेटिएको म्याद गुज्रिएको चियापत्ती नष्ट गर्न आदेश दिएको थियो । सोहीअनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले सोमबार नष्ट गरेको हो ।

हेटौंडा–१० स्थित डम्पिङ साइडमा सरोकरवाला पक्षको निगरानीमा चियापत्ती नष्ट गरिएको हो । प्रशासन कार्यालयले गत मंसिर १२ मा गरेको फैसला तथा पुस १८ को निर्देशनअनुसार खाद्य नियमावली २०२७ को दफा ९ (क) बमोजिम चियापत्ती नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । प्रशासनले १० हजार रुपैयाँ जरिवाना र म्याद नाघेको सामग्री जफत गरी नष्ट गर्ने फैसला गरेको थियो ।

बजार अनुगमनका क्रममा खाद्य प्रविधि कार्यालय हेटौंडाले युनिलिभरको चिया प्रशोधन केन्द्रबाट म्याद गुज्रिएको करिब ७० हजार ९ सय ८० केजी चियापत्ती फेला पारेको कार्यालयका प्रमुख क्षितिज श्रेष्ठले जानकारी दिए ।

चिया प्रशोधन तथा प्याकिङका लागि उद्योगले विभिन्न ब्रान्डका २ हजार २ सय २८ बोरा चिया प्रशोधन केन्द्रमा भण्डारण गरेर राखिएको थियो । त्यसमध्ये ३ सय ८५ बोरामा मात्र उपभोग्य मिति तथा अन्य विवरण रहेको पाइएको थियो । युनिलिभर प्रशासनका अनुसार करिब १ करोड ७९ लाख ९० हजार ८ सय ४० रुपैयाँ बराबरको चियापत्ती नष्ट भएको छ ।