
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आगामी तीन महिना भित्र गौतमबुद्ध विमानस्थल उद्घाटन गर्ने घोषणा गरेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औं वार्षिकोत्सबका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन्।
भैरहवा रुट दिन भारतले आनाकानी गरेको भन्दै यसलाई छिट्टै टुङ्ग्याइने उनले बताए। जनवरी २०२२ भित्र क्यालिब्रेसन उडान गर्ने तयारी रहेको समेत प्राधिकरणले जानकारी गराएको छ । मन्त्री आलेले तोकिएको समयमा काम पूरा गर्न निर्देशन दिए ।
उनले युरोपेली युनियनको कालोसूचीबाट हट्ने गरी काम गर्न समेत निर्देशन दिए । उनले नेपाल वायुसेवा निगमलाई जहाज खरिदको प्रक्रिया अगाडि बढाउन आफूले निर्देशन दिएको जानकारी दिए ।
प्राधिकरणको वार्षिकोत्सबमा केही हाकिम नआएको भन्दै उनीहरुमाथि निगरानी गर्ने चेतावनी मन्त्री आलेले दिए । उनले भने ‘निगरानी छ कतिपयलाई, यो धन्दा अरुसँग गर्नुहोला, प्रेम आलेसँग होइन ।’
