सालनालसहितको शिशु फालेर फरार

१४ पुष २०७८, बुधबार ११:१८

काठमाडौं । पोखरामा सरकारी अस्पतालको हाता भित्र सालनालसहितको शिशु फालेर महिला फरार भएकी छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाता भित्र रहेको अस्पतालको पुरानो गाडीमा छाडेको अवस्थामा मंगलबार बिहान १० बजे नवजात शिशु (पुरुष) फेला परेको अस्पतालका बालरोग विभाग प्रमुख, वरिष्ठ बालरोग विशेषज्ञ डा.रामचन्द्र बास्तोलाले जानकारी दिए।

शरीर पुरै चिसो भैसकेको अवस्थामा बिहान १० बजे शिशु फेला परेपछि अस्पतालका बाल रोग विभागका डा. सहितको टोलीले शिशुलाई एनआइसीयुमा लगेर उपचार थालेको डा. बास्तोलाले बताए।

डा. सहितको टोलीले शिशुलाई तत्कालै एनआइसीयुमा राखेर उपचार गरेको पछि, शिशुमा अहिले सुधार भएको छ ।’

शिशुलाई दिनभर एनआइसीयुमा भेन्टिलेटरमा राखेर कृत्रिम श्वासप्रश्वास दिएर उपचार गरिएकोमा हाल सिप्याप मेसिनमा राखिएको र स्वास्थ्य सुधार उन्मुख रहेको डा. बास्तोलाले बताए ।

अस्पतालमा सालनालसहितको शिशु फालेर फरार भएकी महिलाको खोजी कार्य भइरहेको कास्की प्रहरी प्रमुख, एसपी रमेश थापाले बताए ।

‘अस्पतालमा फालिएका शिशुको डा.सहितको टोलीले टेक केयर गरिरहएको छ’, एसपी थापाले भने, ‘हामीले शिशु फालेर हिँड्ने आमाको खोजी कार्य गरिरहेका छौँ ।’

अवैध सम्बन्धबाट शिशु जन्मिएपछि फालेर भागेको हुनसक्ने अस्पताल परिसरमा रहेका व्यक्तिहरूको अनुमान रहेको छ ।