काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता भएको छ ।
राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी दुई पार्टीबीच एकता भएको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा जनवादीका नेताहरूलाई स्वागत गरेका थिए ।
अध्यक्ष देवसिंह महतको नेतृत्वमा रहेको जनवादीका नेताहरू एकीकृत समाजवादीमा समाहित भएका हुन् । महत पूर्वमाओवादी नेता हुन् । उनी माओवादीको सशस्त्र युद्धमा सहभागी भएका थिए । माओवादीको चुनवाङको चर्चित केन्द्रीय कमिटी बैठकपछि उनीहरूले माओवादी छोडेका हुन् ।
उनीहरू त्यतिबेला जनयुद्धको निरन्तरताको निर्णय लिनुपर्ने पक्षमा उभिएका थिए । एकता कार्यक्रममा बोल्दै अध्यक्ष महतले जनताले जनयुद्धलाई निरन्तरताका लागि सहयोग नगर्ने महसुस भएपछि शान्तिपूर्ण राजनीतिमा आएको बताए ।
यस्तै नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्दै अब सबै कम्युनिष्ट पार्टीहरु एकतावद्ध हुनुपर्ने बताएका थिए ।
साविक नेकपाको दर्तालाई २३ फागुन २०७७ मा सर्वोच्च अदालतले खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र अलग अलग भए ।
आन्तरिक किचलोका कारण अन्ततः एमाले विभाजन भएर नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका थिए । एकीकृत समाजवादीलाई ९ भदौमा निर्वाचन आयोगले दलको मान्यता दिएको थियो ।
नयाँ दल दर्ता गरेको पाँच महिनापछि नेपाल वामपन्थी पार्टीबीच एकता अभियानमा लागेका छन् । केही दिनअघि उनले १३ पुसमा विभिन्न दलबीच एकता हुने घोषणा गरेका थिए ।
