
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी जनवादीबीच मंगलवार पार्टी एकता घोषणा हुँदैछ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा हुने एकीकृत समाजवादी पार्टीका उपमहासचिव डा.विजयकुमार पौडेलले जानकारी दिए ।
एकता घोषणा कार्यक्रमलाई एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा जनवादीका महासचिव देवन्द्रसिंह महता (डिएस महता) लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।
पछिल्लो समय देशव्यापी संगठन विस्तारलाई तीव्र बनाएको एकीकृत समाजवादीले पार्टी एकता अभियानलाई समेत उच्च प्राथमिकतामा राखेको छ । नेकपा जनवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीबाट अलग भई २०७७ मा भूमिगत रुपमा संगठित भएको थियो ।

सरकारसँग शान्ति वार्ता सम्झौता भएसँगै मूलधारको राजनीतिमा प्रवेश गरेको नेकपा जनवादी मंगलवार एकीकृत समाजवादीमा विलय हुने भएको हो ।
पार्टी एकता घोषणा समारोहमा महासचिव महतासहित जानुका श्रेष्ठ, हिमालचन्द्र खरेल, साधुराम चौंलागाई, श्यामबहादुर बूढा, छत्र लाखे, विनोद थापा, मिना गिरी लगायतका नेताहरु एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका छन् ।
