०७ सालदेखि लगातार अधिकारका ममिलामा सबै राजनीतिक दलहरु च्याम्पियन

११ पुष २०७८, आईतवार १८:१३

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले २००७ सालदेखि लगातार अधिकारका ममिलामा सबै राजनीतिक दलहरु च्याम्पियन बनेको बताएका छन् । आइतबार नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

पोखरेलले भनेका छन्, ‘२००७ सालदेखि लगातार अधिकारका ममिलामा हामी राजनीतिक दलहरु च्याम्पियन बन्यौं । तर, कर्तव्यका ममिलामा, राष्ट्रको समृद्धिका ममिलामा, राष्ट्रको स्वधीनता र समृद्धिको मामिलामा हामीले हाम्रो कर्तव्यलाई कुन रुपमा पूरा गर्न सक्यौं–सकेनौ भन्ने कुरा नेपालका राजनीतिक दलहरुले मनन नगर्ने हो भने नेपाली जनताको आकांक्षालाई नेपालका राजनीतिक दलहरुले पूरा गर्न सक्दैनन् भन्ने कुरालाई मनन गर्न जरुरी छ ।’

त्यस्तै उनले हरेक राजनीतिक दलहरुले आफूले आयोजना गर्ने महाधिवेशन र सम्मेलनहरुमा त्यस्तो प्रश्नमा घोत्लिएर चिन्तन–मनन गर्नु जरुरी रहेको बताएका छन् । उनले भनेका छन्, ‘यो राष्ट्रलाई कुन बाटोमा डो¥याउने भन्ने प्रश्नमा केन्द्रित हुनुपर्छ भन्ने कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु ।’

यस्तै मुलुककै सबै भन्दा ठूला पार्टी रहँदा रहँदै पनि आफूहरु प्रतिपक्षमा रहेको बताउँदै उनले भने, ‘स्वभाविक रुपमा यहाँ सत्ता गठबन्धनका कतिपय मित्रहरु हुनुहुन्छ । मुलुकको सबभन्दा ठूलो पार्टी रहँदा रहँदै पनि हामी अहिले प्रतिपक्षमा छौं । त्यस अर्थमा सवालमा जवाफ दिनुपर्ने हुन्छ नै, तर म दिन चाहन्न, किनकि यो उत्घाटन समारोह हो । उत्घाटन समारोहमा म बहस गर्न चाहन्न ।’

हरेक राजनीतिक दलहरुले आफ्ना सभा र समारोहका माध्यमबाट आफ्ना नितान्त विश्लेशन गर्ने अवसर पाउनुपर्ने उनको भनाइ छ । उनले थप भनेका छन्, ‘हामी बहस सार्वजनिक रुपमा बाहिर गर्न सक्छौं । माओवादी आन्दोलनसँग जोडिएका केही प्रसंगहरु हाम्रो पार्टीसँग पनि जोडिएका छन् ।’