
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम कर्पोरेसन च्यालेन्ज एमसिसीबारे आफ्नो पछिल्लो धारणा सार्वजनिक गरेका छन् ।
प्रचण्डले भनेका छन्, ‘पहिलो कुरा हामी आजकै देशको परिस्थितीमा विदेशी सहायता वा अनुदानलाई अस्वीकार गर्ने ठाउँमा हामी छैनौँ । हामी स्वीकार गर्दै पनि आएका छौँ, लिँदै आएका छौँ ।’
उनले हाम्रो भौतिक पूर्वाधार निर्माणको निम्ति आउने सहयोगलाई त खुसीसाथ स्वीकार्नु पर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘तर एमसीसी प्रोजेक्टका सन्दर्भमा केही प्रश्नहरु उठे, र ती गम्भीर ढंगले उठे । पहिलो कुरा त यो ओरिजिनल सहमतिमा संसदमा लगेर अनुमोदन गर्ने कुरा थिएन । यो बीचमा कहाँबाट आयो । किन आयो त्यहाँबाट शुरु भयो । यसको विवाद, नत्र यो पहिला विवादमा थिएन ।’
उनले थपेका छन्, ‘अमेरिकाको आफ्नो ग्लोवल स्ट्राटेजी भनौँ न, विश्वव्यापी रणनीतिको अंग हो यो भनेजस्ता प्रचारहरु आए, त्यसले पनि नयाँ बहसलाईजन्म दियो र आम जनतामा एउटा खालको पर्सेप्सन भनौँ न, बुझाइ भयो कि, एमसीसी भनेको राष्ट्रको हीतमा छैन भन्न खालको व्यापक रुपमा गयो ।’
उनले अहिले आफूहरुको भानाइ यो विषयमा पहिले जहाँनेर त्रुटी भएका छन्, त्यहाँबाट सच्याउनु पर्ने बताएका छन् ।
अनि जुन जुन प्रावधानले हामीलाई अप्ठ्यारो पार्ने जस्तो छ ती प्रावधान सच्याइनु प¥यो,’ उनले भनेका छन्, ‘जरुरी पर्दा संशोधन पनि गर्नुप¥यो, दोस्रो कुरा । तेस्रो कुरा, यो विषय अलि गम्भीर र संवेदनशील भइ सकेको हुनाले राजनीतिक दलहरुको बीचमा पनि अधिकतम समझदारीको प्रयास गर्नुप¥यो ।’
उनले पारित गर्नका लागि राष्ट्रियरुपमा पनि बुद्धिजीवि, पत्रकार, नागरिकहरुको राय लिएर राष्ट्रिय समझदारी बनाएर मात्रै यसलाई अगाडि बढाउन सकिने पनि बताएका छन् ।
‘जबरजस्ती गरियो भने यसले अप्ठ्यारो स्थिति बन्छ भन्ने भएको हुनाले नै हामी अहिले एउटा कार्यदल बनाएका छौँ,’ उनले भनेका छन्, ‘त्यो कार्यदलले कहाँ, कहाँ त्रुटी छ भनेर अध्ययन गर्दैछ । हिजोमात्रै त्यसको बैठक बस्यो । त्यसले गर्दैछ, फेरि १७ गते बस्दैछ, यो प्रक्रिया छ, दोस्रो । तेस्रो गठबन्धनको कुरा के छ भने मलाई लाग्दैन एमसीसीले अलिकति समय लियो नै भनेपनि वा केही सुधारको गुञ्जायस छ ।’
