महाधिवेशन नभई राष्ट्रिय सम्मेलन भएकाले पाहुना नबोलाइने

८ पुष २०७८, बिहीबार ०८:३८

काठमाडौं । माओवादी केन्द्रले आगामी ११ देखि १३ पुससम्म हुने प्रथम राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको छ । राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको संख्या, भौतिक व्यवस्थापन र पार्टीको दस्ताबेजलगायत विषयमा तयारी भइरहेको माओवादीले जनाएको छ ।

माओवादीका प्रचार विभाग प्रमुख तथा स्थायी समिति सदस्य कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनका विषयमा जानकारी गराएका हुन् । महराका अनुसार अहिलेसम्म विभिन्न प्रदेश र कमिटीहरूबाट राष्ट्रिय सम्मेलनमा करिब १५ सय ३३ जना प्रतिनिधि सहभागी हुने टुंगो लागेको छ । जसमा सम्मेलन आयोजक समितिका एक सय ७९, सल्लाहकार एक सय ४९, ज्येष्ठ कम्युनिस्ट एक सय २५, विभिन्न आयोगबाट ७५ जना, केन्द्रीय विभागबाट एक सय दुईजना र केन्द्रीय प्रतिनिधि २७ जना सहभागी हुनेछन् । त्यस्तै, प्रदेशहरूबाट आठ सय तीनजना छनोट भएर आउनेछन् भने ७३ जना मनोनीत हुनेछन् ।

प्रदेशबाट प्रतिनिधिको संख्या पनि माओवादीले टुंग्याएको छ । जसअनुसार प्रदेश १ बाट ९६, प्रदेश २ बाट एक सय ६, बागमतीबाट एक सय २८, गण्डकीबाट ७४, लुम्बिनीबाट एक सय पाँच, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्पर्क समन्वय समितिहरूबाट ४३ जना छनोट हुनेछन् । माओवादीले अब नयाँ क्रान्तिकारी पार्टी र विचार निर्माणका लागि के गर्ने भन्नेबारेमा राष्ट्रिय सम्मेलनमा बहस गर्ने भएको छ । ‘यो महाधिवेशन होइन, त्योभन्दा सानो राष्ट्रिय सम्मेलन हो,’ प्रवक्ता महराले भने, ‘यो सम्मेलनबाट हामी मुख्य दुई काम गर्छौँ । त्यो भनेको पहिलो क्रान्तिकारी विचार निर्माण र दोस्रो क्रान्तिकारी पार्टी निर्माण गर्ने विषय हो ।’

क्रान्तिकारी विचार निर्माणअन्तर्गत शान्ति प्रक्रियामा आएपछि पार्टीले लिएका नीतिहरूको विषयमा गम्भीर समीक्षा हुने महराको भनाइ छ । ‘हामी ०६४ मा सबैभन्दा ठूलो पार्टी थियौँ । त्यसबीचमा हामीले अरू पार्टीसँग पनि सहकार्य ग¥यौँ । अहिले हामी किन यो अवस्थामा छौँ भन्ने गम्भीर समीक्षा हुन्छ,’ महराले भने, ‘अर्को कुरा हामीले क्रान्तिको बाँकी रहेको कार्यभार पनि पूरा गर्नु छ । त्यसका लागि अरू पार्टी जस्ता छन्, हामीले त्यस्तै पार्टी बनाएर हुँदैन । नयाँ पार्टी बनाउन के गर्नुपर्छ भनेर हामी छलफल गर्छौँ ।’ यस विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनमा प्रतिवेदन पेस गर्ने र बहसबाट एउटा टुंगोमा पुग्ने उनले बताए ।

माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलनमा देश तथा विदेशबाट पाहुना नबोलाउने भएको छ । महाधिवेशन नभई राष्ट्रिय सम्मेलन भएकाले पाहुना नबोलाइने निर्णय माओवादीले गरेको छ । ‘महाधिवेशन नभई राष्ट्रिय सम्मेलन भएकाले राष्ट्रिय वा अन्तर्राष्ट्रिय अतिथिहरू कसैलाई पनि बोलाउँदैनौँ,’ महराले भने । यसअघि भएका एमाले र कांग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा देशका प्रमुख राजनीतिक दल र विभिन्न देशका राजनीतिक दलका प्रतिनिधि निम्त्याइएका थिए ।

त्यस्तै, सम्मेलनका लागि उपत्यकाभित्र भक्तपुर, ललितपुर र काठमाडौंका प्रवेशद्वारमा स्वागतद्वार राखिने, आकाशे पुलहरूमा ब्यानर राख्ने र मुख्य ठाउँमा सम्मेलनबारे पोस्टर राख्ने भएको छ ।

राष्ट्रिय सम्मेलनको लोगो र नारा तय
माओवादी केन्द्रले सम्मेलनका लागि तयार गरेको नारा र लोगो पनि बुधबार सार्वजनिक गरेको छ । ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ मुख्य नारा तय गरेको छ । त्यस्तै राष्ट्रिय सम्मेलनको लोगोमा माओवादीले मठमन्दिरहरू र धरहराको चित्र समावेश गरेको छ । लोगोको बीचको माथिल्लो भागमा अन्तर्राष्ट्रिय कम्युनिस्ट नेताहरू राखेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट नेताहरूको मुनि कम्युनिस्ट झन्डा बोकेको जनता र जनताका बीचमा अध्यक्ष प्रचण्डको तस्बिर राखिएको छ ।