
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको टिप्पणी गरेका छन् ।
एमाले अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताएका हुन् । उनले नेपाल र अमेरिकाबीचको एमसीसी सम्झौंतामा भारतको गोरखपुरसम्म विद्युत प्रशारण लाईन तान्ने कुरा कहाँबाट आयो भन्दै सरकारसँग प्रश्न समेत गरे ।
उनले नेपालको विद्युत नेपाललाई आवश्यक रहेको र त्यसले नेपालमा विद्युतबाट चल्ने रेल र विद्युतीय सवारी साधन संचालन गर्न सरकारसँग माग पनि गरे । उनले भने, ‘नेपालको विजुली भनेको नेपाललाई नै चाहिन्छ । एमसीसी सम्झौता भनेको नेपालको विजुली भारत हुँदै सिंगापुर लाने हो । एमसीसी सम्झौताको अनुसूचि ५ (क) मा गोरखपुरसम्म प्रशारण लाईन तान्ने उल्लेख छ । अमेरिका र नेपालको सम्झौतामा गोरखपुरसम्म बिजुलीका लाईन तान्ने कहाँबाट आयो ? कुनै पनि देशभक्त नेपालीले यो देशघाती एमसीसी सम्झौतालाई समर्थन गर्न सक्दैनन् । एमसीसी समर्थन गर्नेहरु देशघाती र देशद्रोही नै हुन । यसमा कुनै फरकै छैन । यो विषयमा सदन र सरकारको ध्यान जाओस् ।’
