
काठमाडौं । सप्तरी भएको दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएपछि सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघिया गाउँका बासिन्दा शोकमा डुबेका छन्।
बिहीबार दिउँसो मोटरसाइकलमा सबार उनीहरुलाई सिरहाको लहानमा टिपरले ठक्कर दिएको थियो। उक्त टिपरले ठक्कर दिदाँ ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादवको मृत्यु भएको हो।
यी तीनसहित चार जना प्रदेश २–०१–००२प २६८२ नम्बरको मोटरसाइकलमा सबार भएर घरतर्फ आउने क्रममा सिरहाको लहान ३ स्थित लहान–ठाडी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.१क २६२ नम्बरको टिपरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा. तपन दाहालले जानकारी दिए । उनका अनुसार तीन जनाको मृत्यु भएको र १ जना बच्चा घाइते भएका छन्।
एकै परिवारका तीन जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको वडा अध्यक्ष बिरेन्द्र गोइतले बताए। ‘अहिले उनको परिवारमा रुवाबासी चलेको छ । गाउँ शोकमा डुबेका छन्’ उनले भने।
मृतकको तीनै जनाको शव पोष्टमार्टमका लागि लहानमै राखिएको र एकै पटक तीनजनाको संस्कार गरिने स्थानीयले बताएका छन्।
