महामन्त्री पदका लागि लडाई चल्दै

१ पुष २०७८, बिहीबार १५:१०

काठमाण्डौ । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापाको जित सुनिश्चित भएको छ ।

मतगणना अन्तिम चरणमा पुग्दा थापा अरुभन्दा फराकिलो अन्तरले अगाडि रहेका छन् । भने दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले पनि मतान्तर बढाएका छन्। ३१ सयभन्दा धेरै मतगणनामा थापाले २ हजार ३२ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माको १ हजार २५५ मत छ ।

तेस्रो स्थानमा रहेका डा. प्रकाशशरण महतको १ हजार २४, प्रदीप पौडेलको ९३५, डा. मिनेन्द्र रिजालको ५४६ र डा.राजाराम कार्कीको ७५ मत छ । अग्रता लिइरहेका थापा डा.शेखर कोइराला समूहबाट र शर्मा प्रकाशमान सिंहको समूहबाट महामन्त्रीको उम्मेदवार हुन् ।

सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार हुन् । त्यसैगरी डा. कोइराला समूहबाट अर्का उम्मेदवार डा. मिनेन्द्र रिजाल र विमलेन्द्र निधिको समूहबाट डा. राजाराम कार्की महामन्त्रीका उम्मेदवार हुन् ।

कांग्रेसको विधानअनुसार महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना चयन हुनेछन् । सभापति र उपसभापतिको मतगणना सकिसकेको छ । सभापतिमा देउवा र उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित भएका छन् ।