
काठमाडौं । मोटरसाइकल दुर्घटना आज भक्तपुरमा एक जनाको मृत्यु भएको छ । एक गभ्भीर घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–७ गुण्डु रातोपाटी नजिक सूर्यविनायकबाट गुण्डुतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०३३ प ७१७३ नं को मोटरसाइकल आज आफैँ अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किएको थियो ।
उक्त मोटरसाइकलमा सवार स्थानीयवासी ३२ वर्षीय रवीन्द्र थापाको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी गराए ।
उनका अनुसार शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा पठाइएको छ । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक गुण्डुकै ३७ वर्षीय सुरेन्द्र बस्नेतको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।
