पौडेललाई आफूले १३औं महाधिवेशनमै सभापतिमा छाडेकाले यो पटक आफ्नो नाममा सहमति हुनुपर्ने प्रकाशमान सिंहको अडान

२४ मंसिर २०७८, शुक्रबार १३:४२

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहबाट सभापतिको साझा उम्मेदवार छनोटको सम्भावना टर्दै गएको नेताहरुले बताए ।
सहमतिको प्रयासमा नेताहरुको दौडधुप चलिरहेको छ ।

सहमतिको प्रयास असफल भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल मौन बसेका छन् । उनी आफ्नो समूहका नेताहरुले गरेको छलफलमा समेत सक्रिय रुपमा सहभागी भएका छैनन् ।

यद्यपि उपसभापति, महामन्त्री र सहमहामन्त्रीका आकांक्षीहरुले भने सहमतिको प्रयास छाडेका छैनन् । बिहीबार दिउँसो महामन्त्री डा. शशांक कोइरालालाई भेटेर पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका उनीहरुले साँझ सभापतिका दुई आकांक्षी प्रकाशमान सिंह र डा. शेखर कोइरालालाई छुट्टाछुट्टै भेटेका थिए ।

उनीहरुले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै साझा उम्मेदवारका रुपमा अघि सारेर भएपनि अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए ।
सभापतिमा साझा उम्मेदवार बनाउने सम्भावना टर्दै गएपछि नेताहरुले नयाँ विकल्पमा छलफल गर्न थालेका छन् ।

एक केन्द्रीय सदस्यका अनुसार पौडेलको नाममा सहमति जुट्छ भने आफूले पनि स्वीकार गर्न सभापतिका आकांक्षी डा. कोइराला सकारात्मक देखिएका छन् । सिंह सभापतिको उम्मेदवार बन्दा आफूलाई पनि रोक्न नमिल्ने शेखरको तर्क रहेमको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने पौडेललाई साझा उम्मेदवार मान्न आफू तयार नभएको बताए । पौडेललाई आफूले १३औं महाधिवेशनमै सभापतिमा छाडेकाले यो पटक आफ्नो नाममा सहमति हुनुपर्ने उनको अडान छ । सहमति हुँदैन भने पनि आफूले सभापतिमा उम्मेदवारी दिने उनले बताएका छन् ।