
काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ गते (आगामी शुक्रबार) बाट सुरु हुदैछ । देश सङ्घीय संरचनामा गए पछि नेपाली काँग्रेसको यो पहिलो महाधिवेशन हो । यस महाधिवेशनले १४ जनाको पदाधिकारी सहित १६७ जनाको केन्द्रीय समिति बन्ने छ ।
काँग्रेसको १४ औँ महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सह महामन्त्री (क्लस्टर) बाट चयन हुने भएका छन् । काँग्रेसको संशोधित विधान अनुसार सहमहामन्त्रीहरू विभिन्न क्लस्टरबाट उम्मेदवार बन्ने तर सबै केन्द्रीय महाधिवेशन प्रतिनिधिले निर्वाचित गराउने छन् । तर कोषाध्यक्षको भने प्रत्यक्ष निर्वाचन नहुने व्यवस्था गरिएको छ ।
महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्य मध्यबाट सभापतिले सिफारिस गरेको व्यक्तिलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेर कोषाध्यक्ष बनाउने व्यवस्था गरिएको छ ।
१४ औँ महाधिवेशनबाट कम्तीमा दश वर्ष निरन्तर काँग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष (खुला) ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछ भने सभापतिको सिफारिसमा नवनिर्वाचित केन्द्रीय समितिले थप ३३ जना केन्द्रीय समिति मनोनयन गने व्यवस्था विधानमा छ ।
केन्द्रीय समितिमा महिलाबाट ९ जना, प्रत्येक प्रदेशबाट एक महिलासहित ३ हुने गरी २१ जना, दलितबाट ४ महिलासहित ९ जना, आदिवासी जनजातिबाट ७ महिलासहित १५ जना, खस आर्यबाट ६ महिलासहित १३ जना, मधेसीबाट ४ महिलासहित ९ जना, थारुबाट २ महिलासहित ४ जना, मुस्लिमबाट १ महिलासहित ३ जना र पिछडिएको क्षेत्रबाट १ जना गरी ५४ जना केन्द्रीय सदस्य चुनिने छन् ।
