
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताउनु भएको छ ।
खुमलटारमा आज आयोजित पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उहाँले मुलुकलाई नयाँ गति दिने गरी विचारको विकास गर्न लागिएको बताउनु भयो ।
अध्यक्ष प्रचण्डले भन्नु भयो“त्यसकारण अहिले यो पटक देशैभरि बलियो पार्टी बनाउनुपर्छ भनेर हामी लागेका छौँ । हाम्रो ध्यान अब समाजवादी क्रान्तिको कसरी विकास गर्ने भन्नेमा छ ।”
उहाँले मधेसकै पहिचान र अधिकारका निम्ति आफूहरुले लडाइँ लडेको बताउृनु भयो । अहिले मधेसमा माओवादी केन्द्रप्रति लहर आएको पनि उहाँको दावी छ ।
मधेसी जनताको मुक्ति र अधिकारको कुरा गर्ने र उनीहरुलाई अगाडि बढाउने हो भने माओवादी केन्द्रबाहेक अरू कसैको पनि विचार त्यहाँका जनताको पक्षमा नभएको उहाँको दाबी थियो ।
एकअर्को प्रसङ्गमा अध्यक्ष दाहालले आफूले नेपालको समाजवाद कस्तो हुने भन्नेमा बहस गर्ने र नेपाली जनतालाई अझ माथि कसरी उठाउने भन्ने बारेमा प्रतिवेदन लेखिरहेको पनि बताउनु भयो ।
