राजेन्द्र लिङ्देन विजय रेखा थापा पराजित ।

१९ मंसिर २०७८, आईतवार १४:५६

काठमाडौं । आजभन्दा १२ वर्षअघि तत्कालीन नेकपा माओवादीले आयोजना गरेको विरोध कार्यक्रमका क्रममा सिंहदरबारअगाडि अध्यक्ष प्रचण्डसँग नाचेपछि रेखा राजनीतिक वृत्तमा पनि चर्चामा आइन् । प्रचण्ड र रेखाको डान्स त्यसबेला खुबै चर्चामा रह्यो ।

त्यसपछि माओवादीले दोस्रो संविधानसभा निर्वाचनमा रेखालाई पर्साबाट उठाउने निर्णय गर्‍यो । तर, मतदाता नामावलीमा नाम नभएपछि रेखा उम्मेदवार बन्न पाइनन् । त्यसपछि रेखा फेरि चलचित्रमा नै बढी सक्रिय हुन थालिन् ।

२०७३ सालमा रेखाले लिएको एक निर्णयले राजनीतिमा एक तरंग ल्यायो । आफूले माओवादी पार्टीको सदस्यता नलिएको दाबी गर्दै रेखा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरिन् । रेखालाई फूलमाला लगाएर भव्य कार्यक्रमका बीच कमल थापाले पार्टीमा स्वागत गरे ।

त्यस कार्यक्रममा रेखाले कमल थापा जस्तो नेताको आवश्यकता देशका लागि रहेको तर्क गरिन् । रेखाले देश र राप्रपाको झण्डा ओढेर मर्न चाहेको अभिव्यक्ति समेत दिइकी थिइन् ।राप्रपामा प्रवेश गरेपनि उनको राजनीतिक सक्रियता भने खासै देखिएन ।

त्यसबेला राप्रपा विभाजित हुन थालेपछि सक्रियता कम देखिएको उनले बताइकी थिइन् । तर, पछि राप्रपा एक भयो ।

राप्रपाको महाधिवेशन नजिकिँदै जाँदा भने रेखा फेरि सक्रिय हुन थालिन् । राप्रपा महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनको पक्षमा उनी खुलिन् र उनले लिङ्देनकै प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी समेत दिइन् ।

तर शनिबार सम्पन्न महाधिवेशनबाट कमल थापालाई हराउँदै लिङ्देन अध्यक्ष बन्न सफल भए भने रेखा महामन्त्रीमा पराजित भइन् । उनी महामन्त्रीकी अर्की उम्मेदवार कुन्ती शाहीसँग भारी मतान्तरले पराजित भएकी हुन् ।