
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड आफैंले उत्तरपुस्तिका परीक्षण गराउँदा यसपटक कक्षा १२ को नतिजा गत वर्षभन्दा खस्केको छ । गत वर्ष शिक्षकले आफ्ना विद्यार्थीलाई मनोमानी नम्बर दिँदा नतिजा ुराम्रोु देखिएको थियो । विद्यालयले परीक्षा सञ्चालन गरे पनि बोर्डले बाह्य परीक्षकबाट उत्तरपुस्तिका परीक्षण गराउँदा यसपटक ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या शून्य छ ।
२०७६ सालसम्म परीक्षाको सम्पूर्ण काम बोर्डले आफैं गरेको थियो । त्यतिबेला पनि ४ जीपीए कसैले ल्याउन सकेका थिएनन् । तर, गत वर्ष (२०७७ं)कोभिड संक्रमणका कारण विद्यालयले नै परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षण गर्दा ४७ विद्यार्थीले ४ जीपीए ल्याएका थिए ।
गत वर्ष माथिल्लो ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या धेरै थियो तर यसपालि उक्त संख्या क्रमशः घट्दो क्रममा रहेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए। यसपालि ३.६ देखि ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ७ हजार ७६ जना २.०(प्रतिशत) छ भने गत वर्ष ६ हजार ९ सय १६ जना (२.२२ प्रतिशत) ले उक्त जीपीए प्राप्त गरेका थिए । यो जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या पोहोरभन्दा १ सय ६० जना बढी छ । यसपालि कुल परीक्षार्थी संख्या पनि गत वर्षभन्दा करिब २८ हजार धेरै थियो ।
