सुदूरपश्चिम प्रदेशमा निर्वाचन कार्यतालिका हेरफेर

१७ मंसिर २०७८, शुक्रबार ११:०८

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश समितिको नेतृत्व सर्वसम्मतिबाटै चयन गर्ने प्रयास जारी राखेको छ । धनगढीमा मंसिर १६ गते प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्र सुरु भए पनि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अझै सुरु भएको छैन्।

सभापति सहिका पदाधिकारीहरूमा सर्वसम्मतिको प्रयास भइरहेकाले शुक्रबार बिहान ८ बजेका लागि तय भएको मनोनयन दर्ता लगायतको निर्वाचन कार्यतालिका हेरफेर गरिएको प्रचारप्रचार समितिका प्रमुख नृप बहादुर सुनारले जानकारी दिए ।

उनका अनुसार कार्यतालिका हेरफेर गर्दै मनोनयन पत्र दर्ताको समय दिउँसो दुईदेखि चार बजेसम्म, मनोनयन पत्रमाथि दाबी विरोध गर्ने समय साढे ४ देखि पाँच बजेसम्म, उम्मेदवारको नाम प्रकाशन गर्ने समय साढे ५ बजेसम्म, उम्मेदवारी फिर्ता लिने समय साढे ५ देखि साढे ६ बजेसम्म र साढे ७ बजे अन्तिम नामावली प्रकाशनको समय तय गरिएको छ । मतदान शनिबार बिहान ८ बजेदेखि गर्ने कार्यसूची छ ।

सुनारले आकांक्षीहरूका बीचमा सर्वसम्मतिको प्रयासका लागि छलफल भइरहेकाले निर्वाचन कार्यतालिका परिवर्तन गरिएको जनाए । काँग्रेस सुदूरपश्चिमको सभापतिका लागि अहिले करिब एक दर्जन नेताहरू आकांक्षी देखिएका छन् ।

पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर, कैलाली जिल्ला सभापति नरनारायण शाह, पूर्वपरराष्ट्र राज्यमन्त्री अर्जुनजंग बहादुर सिंह, पूर्वसञ्चार राज्यमन्त्री गोविन्द बहादुर शाह, नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष पुष्प शाही, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द बहादुर बोहरा, कैलालीका तत्कालीन जिल्ला विकास समितिका सभापति नारायण मिश्र, कञ्चनपुरका नेता गोपाल गुरुङलगायतका नेताहरु सभापतिको दौडमा देखिएका छन् ।

उनीहरूमध्ये पूर्वपूर्वाधार तथा यातायातमन्त्री बलायर, कैलालीका सभापति शाह र सुदूरपश्चिम प्रदेशसभा सदस्य बोहरा मध्येबाट एकजनालाई सर्वसम्मत रुपमा सभापति बनाउने कसरत कांग्रेसभित्र चलिरहेको छ ।

प्रमुख दाबेदारका रुपमा देखिएका तीनै जना पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । तर आकांक्षी मध्येका देउवा पक्षकै पूर्व राज्यमन्त्रीद्वय सिंह र शाहले पनि अहिलेसम्म आफ्नो अडान फिर्ता नलिएको स्रोतको भनाइ छ ।