
काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा युवा नेताद्वय जनकराज पाठक र सुन्दर पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाको काठमाडौंमा जारी महाधिवेशनमा नेतृत्व चयनका लागि भोलि मतदान हुँदैछ ।
नुवाकोटका दुबै नेता डा. प्रकाशचन्द्र लोहनी निकटका मानिन्छन् भने उनीहरुले युवाको नेतृत्वबाट मात्रै राप्रपालाई बलियो राष्ट्रवादी शक्ति बनाउन सकिने बताउँदै आएका छन् ।
पाठक राप्रपाको स्थापनाकालदेखि नै सक्रिय व्यक्तित्व हुन् भने हाल उनी सहायक पार्टीको केन्द्रीय सदस्यका साथै महाधिवेशन प्रचारविभाग सदस्यको भूमिकामा रहेका छन् ।
पार्टीभित्र सबैसामु परिचित र प्रिय रहेका पाठकले कर्तव्यनिष्ठ र उर्जावान राप्रपा निर्माणका लागि भूमिका निर्वाह गर्न आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताए ।
उनले राजसंस्था र हिन्दुराष्ट्रका लागि आफू अविचलित रुपमा उभिरहने भन्दै पार्टीको ऐतिहासिक एकता महाधिवेशनबाट केन्द्रीय सदस्य (खुल्ला तर्फ) विजयी गराउन आग्रह गरे ।
यस्तै पाण्डेले पनि राप्रपालाई बलियो शक्ति बनाउन युवाहरुको उपस्थिति जरुरी हुने भएकाले केन्द्रीय सदस्य (खुल्ला तर्फ) उम्मेदवारी घोषणा गरेको बताएका हुन्।
