
काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आजबाट चुनावी प्रक्रिया सुरु हुँदैछ। अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनको बुधबार भृकुटीमण्डपमा उद्घाटन गरेका थिए।
उद्घाटन सत्र सकिएलगत्तै भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु भइसकेको र आज निर्वाचन प्रक्रिया सुरु हुने राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिए। हिजोको बन्दसत्रमा अध्यक्षत्रयको राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदा प्रस्ताव पेस भएको थियो। आज बिहान ८ बजेदेखि पुन सुरू हुने बन्दसत्रबाट दुबै प्रस्ताव पारित गर्ने कार्यतालिका तय गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना लगभग टरिसकेको भए पनि सहमतिको प्रयास गरिने नेताहरूले बताएका छन्। मञ्चबाटै अग्रज नेताहरूले अध्यक्षमा उम्मेदवारी दिएका कमल थापा र राजेन्द्र लिङ्देनलाई सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिएका छन्।
यसरी सर्वसम्मत नेतृत्व चयन गर्न नेताहरूले दुबैलाई आग्रह गर्दा हलमा ताली बजेको थियो।
बुधबारदेखि सुरू एकता महाधिवेशनका अन्तिम वक्ता अध्यक्ष पशुपतिशमसेर राणाले सर्वसम्मत नेतृत्वका लागि दुबै पक्ष तयार हुनुपर्ने बताए।
तर, यदि त्यसो नभए लोकतान्त्रिक विधिबाट नेतृत्व छनोटलाई स्वीकार गर्नुपर्ने उनले बताएका छन्।
यसको अर्थ सहमतिका लागि हस्तक्षेप गर्ने रणनीति नेताहरूको छैन। राणाबाहेक त्यो समूहका सगुनसुन्दर लावतीलगायत नेताहरू लिङ्देनको पक्षमा लागेका छन्। अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी लिङ्देन पक्षमा लागिसकेका छन्।
प्रभाव राम्रो रहेकाले थापा लिङ्देनलाई छोड्ने पक्षमा छैनन् भने लिङ्देन समर्थन बढ्दै गएपछि आफ्नो पक्षमा माहोल बनाइरहेका छन्।‘चुनावमा उठेपछि त्यसको परिणाम स्वीकार गर्न दुबै तयार हुनुपर्छ,’ राणाले भने, ‘यो नै राप्रपाको भाग्य र भविष्यका लागि उपयुक्त हुनेछ।’
तर, राणाले चुनावको परिणामबाट पार्टी विभाजनको दिशातर्फ नजाओस् भन्दै भने, ‘राप्रपाको बृहत्तर एकता र जनताको समर्थन प्राप्त गर्न, यो पार्टीलाई बलियो बनोस् भन्ने उद्देश्य राखेरै नेतृत्वमा दाबी छोडेको हुँ। तपाईंहरू सकेसम्म सहमतिबाट सर्वसम्मत नेतृत्व निर्माण गर्नुहोस्।’
उनले राप्रपाको अध्यक्षमा नभए पनि आफूले सकेसम्म पार्टीको गतिविधिमा संलग्न रहने बताए।
