सभापति देउवाले यादवको राजीनामा स्वीकृत गरे

१२ मंसिर २०७८, आईतवार १३:४८

 

 

काठमाण्डौं । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएका छन् । यादवले दिएको राजीनामा स्वीकृत भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले मङगसीर १२ गते आइतबार यादवको राजीनामा स्वीकृत गरेका हुन् ।

डडेल्धुरामा भएको अधिवेशनको सन्दर्भमा दबाब आएपछि यादवले राजीनामा दिएका थिए । डडेल्धुरामा निवर्तमान जिल्ला सभापति कर्ण मल्ल समूहको बहिष्कारका बीच जिल्ला अधिवेशन सम्पन्न भएको छ । मल्ल समूहले अधिवेशन मान्य नभएको भन्दै पुनः अधिवेशन गराउन दबाब दिएको छ ।

मंसिर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन सुरु गरेको मल्ल समूहले केही दिनअघि यादवमाथि भौतिक आक्रमणको धम्की दिएका थिए । मल्ल समूहको धम्की आएपछि यादवले संयोजकबाट राजीनामा पत्र बुझाएर पार्टी कार्यालय जान छोडेका थिए । यादवले काममा फर्किन नमानेपछि सभापति देउवाले उनको राजीनामा स्वीकृत गरेर निर्वाचन समितिका वरिष्ठ सदस्य गोपालकृष्ण घिमिरेलाई संयोजक तोकिएको छ ।

अब घिमिरे नेतृत्वको समितिमा सीताराम केसी, एकराज पोखरेल, तेजबहादुर रावल सदस्य गरेका छन् । समितिको सदस्य सचिवमा केशव रिजाल र जगन्नाथ श्रेष्ठले रहेका छन् । काँग्रेसले अगामी मंसिर २४–२६ गते १४ औं महाधिवेशन रहेको छ । जिल्ला अधिवेशन अन्तिम चरणमा पुगेको छ भने आगामी मंसिर २६ र २७ गते प्रदेश अधिवेशन हुने भएको छ ।