
काठमाण्डौं । यो वर्ष मध्य मङ्सिरअघि नै चिसो बढेको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यो वर्ष मध्य मङ्सिरअघि नै चिसोको कहर बढेको हो । विगत वर्षमा पुस लागेपछि मात्रै बढ्ने गरेको चिसो हावा बहने क्रम यो वर्ष भने मङ्सिर मध्यपूर्व नै बढेको छ ।
मङ्सिरको दोस्रो साता प्रारम्भ भएसँगै एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो हावा लगातार बहिरहेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईमा जनजीवन कष्टकर भएको छ ।
जिल्लाको मध्य र दक्षिणी भेगमा बिहान हुस्सुले ढाक्दै आएको छ । मध्याह्नसम्म घाम देखिँदैन । यसपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि यो वर्ष मङ्सिर निगल्दो नै जाडो धेरै बढेको हो ।
जिल्लाको उत्तरी भेगको पूर्वपश्चिम राजमार्ग वरपर बिहानै घाम झुल्के पनि तुषारोसँगै सिरेटो चल्ने क्रमले चिसो धेरै बढाएको छ । मध्य र दक्षिणी भेगमा मङ्सिरको दोस्रो साता लागेसँगै एकाबिहानैदेखि बाक्लो हुस्सुले ढाक्दै आएको छ । मध्याह्नपछि देखिने घाम पनि मधुरो हुँदा यो वर्ष मध्य मङ्सिरअघि नै जाडो बढेको जलेश्वर नगरपालिका–५ पर्साका रामनारायण राउत बताए ।
