
काठमाण्डौं । नेपाली काँग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित हुनु भएको छ । दोश्रो चरणमा भएको मतदानमा प्रत्यासी सुदीपमोहन भट्टराईलाई पराजित गर्दै बराल सभापति पदमा विजयी हुनु भएको हो । मङगसीर ११ गते शनिबार सम्पन्न मतदानमा कूल १ हजार ९ सय २६ मत खसेकोमा बरालले ९ सय ९५ पाउनु भएको थियो । भने भट्टराईले ९ सय १५ मत प्राप्त गर्नु भएको थियो ।
मङगसीर १० गते शुक्रबार सम्पन्न मतदानमा सभापतिका पाँच जना प्रत्यासीमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसके पछि मङगसीर ११ गते शनिबार दोश्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा पहिलो हुनुभएका बराल र दोस्रो हुनुभएका भट्टराईलाई आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतमले समर्थन गरेका थिए । तर सभापति शेरबहादुर देउवा निकट बरालले तीन जना प्रत्यासीको समर्थन पाएका भट्टराईलाई पराजित गरनु भएको हो ।
बराल शिक्षक संघको राजनीतिबाट काँग्रेसको राजनीतिमा सक्रिय हुँदै आउनु भएको थियो । बरालले पोखराको भद्रकाली बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुख भएर लामो समय काम गर्नु भएको थियो । उहाँ नेपाल शिक्षक संघ संघीय समितिको उपाध्यक्ष पनि हुनुभएको थियो ।
काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य समेत रहनु भएका बराल पार्टीमा वौद्धिक नेताका रुपमा चिनिनु हुन्छ । बराल पार्टीको १३औं महाधिवेशनमा उहाँ प्रतिनिधि हनुभएको थियो ।
