एमाले महाधिवेशनमा कर्याकर्ता सडकमा नेता होटलमा

११ मंसिर २०७८, शनिबार १०:५३

काठमाडौं । चितवनमा शुक्रबारबाट नेकपा एमालेको १०औँ महाधिवेशन हुँदै छ । मुलुकका विभिन्न स्थानबाट आएका नेता कार्यकर्ताहरूले चितवनका होटेल भरिभराउ भएका बेला जनकपुर, महोत्तरी र सर्लाहीबाट आएका एमाले कर्याकर्ताले भने सडकमै खाना पकाएर खाएका छन् ।

जनकपुरबाट चारवटा जिपमा ५७ जनाको टोली शुक्रबार बिहान ८ बजे चितवन आइपुगेको छ । सर्लाहीको बरहथवा नगरपालिकाबाट दुईवटा बसमा ११५ जना आएका छन् ।

भरतपुरस्थित बसपार्कमा साढे ८ बजे आइपुगेर उनीहरूले खाना पकाएर खाएका हुन । ग्यास, तरकारी, प्लेट, पानी आफैँ ल्याएको कार्यकर्ता सुदिप प्रसाद उप्रेतीले जानकारी दिए । महोत्तरी गौशालाबाट २५० जना कार्यकर्ता ५ बजे बसपार्क आइपुगेका थिए ।

चामल र तरकारी आफनै कार्यकर्ताबाट उठाएको गौशाला नगर कमिटी अध्यक्ष अजय कुमार कुशवाहले जानकारी दिए ।

महाधिवेशनमा सहभागी हुन चितवन पुगेका नेताहरू शुक्रबार बिहान होटेलको प्राङ्गणमा टहलिँदै गर्दा कार्यकर्ता भने महाधिवेशनस्थल नदी किनारमा जम्मा भइरहेका छन् ।
महाधिवेशनको उद्घाटन सत्र सुरू हुनै लाग्दा अध्यक्ष केपी ओलीनिकटका रूपमा चिनिएका पृृथ्वीसुब्बा गुरूङ, विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, रघुविर महासेठ, ईश्वर पोखरेल, महेश बस्नेत, दुर्गा प्रसाईं, बच्चन सिंहलगायतका नेता होटेलमा टहलिँदै गरेका हुन् । शुक्रबारबाट सुरू हुने महाधिवेशन आइतबारसम्म चल्नेछ ।