काठमाण्डौं । सत्तारूढ नेकपा माओवादी केन्द्रले आज देशभरिका पालिकाहरूमा अधिवेशन गर्दैछ।दिउँसो १ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरिका अधिवेशनमा भर्चुअल्ली सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी गराएको छ ।माओवादी केन्द्रले मंसिर ४ गते देशभरि वडा अधिवेशन गरेको थियो। प्राय ः सबैतिर सहमतिका आधारमा नेतृत्व चुनिएको छ।
अन्तरिम विधान २०७८ मा पार्टीका विभिन्न तह र जनवर्गीय संगठनका केन्द्रीय निकायको निर्वाचन गर्न केन्द्रीय निर्वाचन आयोगको व्यवस्था छ। माओवादीले सदस्यता नवीकरण पनि टुंग्याएको छ। माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठका अनुसार देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेको बताए ।
२५ मंसिरमा सातै प्रदेशमा अधिवेशन हुनेछ। आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ। प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुने जानकारी पनि गराइएको छ।
