आज नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको

११ मंसिर २०७८, शनिबार ०८:२५

 

काठमाण्डौं । नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्ग आज शनिबार बन्दसत्र र मनोनयन दर्ता गरिदैछ।शुक्रबार नारायणी किनारमा उद्घाटन भएको महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको कार्यतालिका बनाउने भएको छ।

शुक्रबार राति सौराहामा बसेका एमालेको नवौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकले पदाधिकारी, केन्द्रीय कमिटीमा संख्या थप्ने र पोलिटब्युरो पनि बनाउने निर्णय गरेको हो।

सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको संख्या पनि बढाइएको हो। केन्द्रीय कमिटीले गरेको उक्त निर्णय केहीबेरमा सुरू हुने बन्द सत्रले पारित गर्नेछ। बन्दसत्रले अनुमोदन गरेपछि यसले विधानको रूप लिनेछ।

बैठकले २ जना उपमहासचिव र २ जना उपाध्यक्ष थपेर पदाधिकारी संख्या १९ पुर्‍याउने निर्णय गरेको पार्टी कार्यालय सचिव तथा केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी गराए।

यसअघि पदाधिकारी संख्या १५ थियो। यो प्रस्ताव पारित भएसँगै एमालेमा उपमहासचिव संख्या ३ पुगेको छ भने उपाध्यक्ष ७ जना हुनेछन्।त्यस्तै, बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव पनि पास गरेको तामाङले जानकारी दिए। अहिले केन्द्रीय कमिटी २२५ सदस्यीय छ।

अध्यक्षमा दाबी पेस गरेका उपाध्यक्ष भीम रावललगायत नेताहरूले भने पदाधिकारी र केन्द्रीय कमिटी सदस्य थपे पनि सहमतिको सम्भावना नरहेको बताएका हुन्।नयाँ नेतृत्वका लागि सहमति नभए आजै मनोनयन दर्ता हुने छ।एमालेले यसपालिको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी गरेको छ।