अनियमितता रोक्ने मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखको

१० मंसिर २०७८, शुक्रबार ०९:३८

 

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमितता रोक्ने मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखको भएको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको नवनिर्मित भवनको हिजो उद्घाटन गर्दै राईले मन्त्रालयमा सचिव र कार्यालयमा प्रमुखले सुशासन तथा सदाचारिता कायम राख्न महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा पनि जोड दिए ।

राईले भने, “अख्तियारले भ्रष्टाचार र अनियमितताका विभिन्न कारण खुलाउँदै सरकारलाई कार्यान्वयन गर्न सुझाव पनि दिएका हुन् , तर कार्यान्वयन हुनसकेको छैन ।” मुलुकका एक हजार ७७० रुग्ण आयोजनाको अध्ययन, अनुसन्धान भई अहिले सम्पन्न हुने अवस्थामा पुग्दा त्यसको सकरात्मक प्रभाव परेको जिकिर गर्दैै प्रमुख आयुक्त राईले पछिल्लो समयमा स्थानीय तहका उजुरी बढेको बताए हुन । शिक्षा, भूमि व्यवस्था, वन तथा वातावरणलगायत क्षेत्रमा बढी उजुरी परेको उनको भनाइ रहेको थियो ।

विभिन्न आयोजनामा ठेक्का लगाउने निकायले निरन्तर अनुगमन गर्न सुझाउँदै प्रमुख आयुक्त राईले फितलो अनुगमनका कारण बेलैमा कुनै पनि योजना सम्पन्न नहुने र त्यसले विकास प्रभावित हुँदै गएको जनाए छन् । सार्वजनिक तथा सरकारी सम्पत्तिको संरक्षणमा ध्यान पु¥याउन आग्रह गर्दै उहाँले अख्तियारले जवाफ माग्दा जवाफ नदिने कार्यालय प्रमुखलाई कारबाही गर्ने चेतावनीसमेत दिए ।

उक्त समारोहमा आयोगका सचिव तोयम रायाले आयोगले सुशासन कायम गर्न भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि २००३ मा पक्ष राष्ट्र भएर नेपालले हस्ताक्षर गरेकाले नेपालको छवि गुमाउन नहुने गरी काम गर्न आग्रह गरे । कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठले सदाचारिता र इमान्दारिता हरेक व्यक्तिको सम्पत्ति भएकाले यसलाई शिरमा राखेर कर्मचारीले आफ्नो तहको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मुलुकमा सङ्घीयता आएपछि गणतन्त्र संस्थागत हुँदै गएको बताउनु भयो । कर्मचारीलाई जनमुखी र उत्तरदायी भएर काम गरे सुशासन कायम हुने तर्क गर्दै प्रजिअ रिजालले अहिले सुर्खेतको मालपोत, यातायात व्यवस्था कार्यालयलगायमा सुशासन कायम हुँदै गएको बताउनु भयो।

सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतका कार्यालय प्रमुख अमरबहादुर थापाले अख्तियार सुर्खेतको कार्यालय दुई हजार ४०० वर्गमिटर क्षेत्रफलमा रु नौ करोड ३१ लाख ८७ हजार ५७० को लागतमा निर्माण सम्पन्न भएको जानकारी गराए । विसं २०७५ जेठ २ गते भवन निर्माण सम्झौता भई दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने जिम्मा लिएको आशीष–हाम्रो जेभीले कोरोना महामारीका कारण विसं २०७८ असार ३१ सम्पन्न गरेको कार्यालय प्रमुखले थापाले जनाए छन्।