
काठमाण्डौ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाँक्रीटोलमा आगलागी हुँदा तीन जना बालकको ज्यान गएको छ ।
स्थानीय सञ्च तामाङको गोठमा आगलागी भएको हो । ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा हिजो बेलुका सात बजेतिर आगो लागेको थियो।
उक्त गोठमा सल्किएको आगोले घर पनि जलेर नष्ट भएको छ भने आगो लागे पछि बालबालिका घरबाट बाहिर निस्कन नसक्दा उनीहरुले पनि ज्यान गुमाएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार आगो लागेको समयमा अभिभावक घरमा नभएको कारण उनीहरुको ज्यान गएको हो । उक्त आगलागीमा परेर सञ्च तामाङका ६ वर्षीय छोरा मनोज तामाङ, साथै त्यसै गाँउका सुकमान तामाङका पाँच वर्षीय छोरा मनिष तामाङ र साइला तामाङका पाँच वर्षीय छोरा दिलबहादुर तामाङको पनि ज्यान गएको छ ।
आगो लागिमा मानवीय क्षति भएको छ भने उक्त आगो स्थानीयको मद्दतले गएराति नै नियन्त्रणमा आएको थियो ।
