पाकिस्तानलाई रुवाउँदै अष्ट्रेलिया टि २० किकेटको फाइनलमा

२६ कार्तिक २०७८, शुक्रबार ०६:१७

काठमाडौं । उपाधिको दावेदार मानिएको पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलिया टी–२० विश्वकपको फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि न्यूजिल्याण्डसँग खेल्नेछ ।

अबुधाबीमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले अन्तिम ओभर खेल्नु अघि ५ विकेट गुमाएर भेट्टायो । ९६ रन बनाउँदा ५ विकेट गुमाएको अष्ट्रेलियालाई ४८ बलमा ८१ रन चाहिएको थियो ।

उत्कृष्ट पारी खेलेका म्याथु वेड र मार्कस स्टोइनिसले छैटौं विकेटका लागि अविजित ८१ रनको साझेदारी गरे ।

त्यसमा पनि निर्णायक १९औं ओभर रह्यो । शाहिन शाह अफ्रिदीले बलिङ गरेको त्यो ओभरको तेस्रो बलमा वेडले जीवनदान पाएका थिए ।

लगतै चौथो, पाँचौं र छैटौं बलमा लगातार तीन छक्का हान्दै उनले टिमलाई जित दिलाए । वेड ४१ र स्टोइनिस ४० बलमा अविजित रहे । डेभिड वार्नरले ४९ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १७६ रन बनाएको थियो । उसका लागि मोहम्मद रिवाजले ६७ र फखार जमानले अविजित ५५ रन जोडेका थिए ।