
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहको दुरी बढेको छ । दुई नेताबीच पछिल्लो समय औपचारिक सम्वाद पनि हुन छाडेको नेताहरु बताउँछन् ।
कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा गर्ने तय भएको छ ।
संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा फेरि दोहोरिन चाहेका छन् भने उपसभापति विमलेन्द्र निधिले पनि सभापति उठ्ने बताएका छन् ।
पौडेल समूहबाट वरिष्ठ नेता पौडेलसँगै महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् ।
यो समूहका नेताहरुले बेलाबेलामा साझा उम्मेदवार अघि सार्ने दाबी गर्ने गरेका छन् । व्यवहारमा भने चार आकांक्षी एकै ठाउँमा भेला हुन समेत कठिन हुन थालेको छ । त्यसको एउटा कारण हो, रामचन्द्र र प्रकाशमानको बढ्दो दुरी ।
नेताहरुले बताएअनुसार मन्त्रिपरिषद् विस्तारसँगै प्रकाशमान, पौडेलसँग नराम्रोसँग चिढिएका छन् ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पौडेल समूहसँग दुई मन्त्रीको नाम मागेका थिए । मन्त्रीका लागि पौडेल, कोइराला र सिंहको आआफ्नो सूची थियो ।
पूर्वमहामन्त्री सिंहले राजन केसी, पौडेलले तेजुलाल चौधरी र महामन्त्री कोइरालाले डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू लगायतलाई मन्त्री बनाउन चाहेका थिए । समूहमा भाग पुर्याउन समस्या भएपछि नेताहरुले २० असोजमा देउवालाई भेटेर तीन मन्त्री पाउनुपर्ने माग गरेका थिए ।
तर २२ असोजमा मन्त्रिपरिषद् विस्तार हुँदा पौडेल समूहबाट डा. मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडू मात्र परे । रक्षामन्त्री रिजाल र कानुनमन्त्री बडू महामन्त्री कोइराला निकट मानिन्छन् । यससँगै नेता सिंह, वरिष्ठ नेता पौडेलसँग रुष्ट बनेका छन् ।
आफूहरुलाई देखाएर भाग लिएको, तर आफूसँग परामर्श समेत नगरी मन्त्रीहरु पठाएको पूर्वमहामन्त्री सिंहको गुनासो छ ।
काठमाडौंका स्थानीय तहहरुको निर्वाचनले पनि सिंहको असन्तुष्टिलाई मलजल गरेको छ । काठमाडौंमा पार्टी संगठनभित्र सिंहको पकड बलियो छ । सिंहले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका गगनकुमार थापासँग मिलेर काठमाडौंको स्थानीय तहमा उम्मेदवारहरु छनोट गरेका थिए ।
तर नेताहरुले सहयोग नगर्दा केही ठाउँमा हार्नु परेको सिंहको आरोप छ । ‘तारकेश्वर, टोखा र कागेश्वरी मनहरा नगरपालिकामा नहार्नुपर्ने ठाउँ थियो, हाम्रा नेताहरुले सहयोग नगर्दा परिणाम हाम्रो पक्षमा आएन’ सिंह निकट एक नेता भन्छन् ।
यी सबै घटनाक्रमले सिंह, पौडेलसँग टाढिएका छन् । झण्डै एक महिनादेखि दुई नेताबीच औपचारिक भेटघाट रोकिएको छ भने फोनमा समेत सम्वाद हुन छाडेको छ ।
