नोबेल पुरस्कार विजेता मलालाले गरिन विवाह

२५ कार्तिक २०७८, बिहीबार २३:०६

काठमाडौं। चर्चित महिला अधिकारकर्मी तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले विवाह गरेकी छन् ।

मलालाले बेलायतको बर्मिङघममा आफ्ना प्रेमीसँग विवाह गरेकी हुन् । उनले निकाह नामक इस्लामिक वैवाहिक समारोहका तस्वीर ट्विटरमा सार्वजनिक गर्दै विवाहबारे जानकारी दिएकी छन् ।

‘आज मेरो जीवनको अमूल्य दिन हो’, २४ वर्षीया मलालाले ट्विटरमा लेखेकी छन्, ‘असर र म जीवनसाथी बन्न लगनगाँठोमा बाधिएका छौं ।’

मलालाले आफ्ना पतिको बारेमा सबै कुरा खुलाएकी छैनन् । तर सामाजिक सञ्जाल प्रयोगकर्ताले जनाएअनुसार उनका पति असर मलिक पाकिस्तानी क्रिकेट बोर्डको हाइ पर्फर्मेन्स बोर्डका महाप्रबन्धक हुन् ।

पाकिस्तानी मूलकी मलालालाई १५ वर्षको उमेरमा तालिबानले कञ्चटमा गोली हानेको थियो । लगत्तै उनले बेलायतमा शरण लिएकी थिइन् ।

उनलाई बालिका शिक्षामा काम गरेको योगदान स्वरुप नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

मलाला ‘आइ एम मलाला’ नामक चर्चित किताबकी लेखिका समेत हुन् ।