
कैलालीमा मदिरामा मात्तिएका नेपाली सेनाका मेजर रातिको समयमा अर्कै होटलको पछाडिबाट पसेपछि बबण्डर मच्चिएको छ ।
विवाद बढेर लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयका सेनानी (मेजर) अशोकजंग शाही चढेको गाडी र इलाका प्रहरी कार्यालय तोडफोड भएको हो । स्थानीयलाई गालीगलौज गरेका शाहीमाथि ढुंगामुढा प्रहार भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार घटना आइतवार राति करीब १० बजेतिरको हो ।
मदिराको नशामा लठ्ठिएका मेजर शाही शिक्षालयभन्दा १ किलोमिटर पूर्व चिसापानी बजारस्थित लुक्स होटलमा जान खोजेका थिए तर नशाले गर्दा मान्छेसम्म चिन्न नसक्ने अवस्थामा पुगेका मेजर शाही अर्कै होटल अर्थात संगम होटलमा पसे ।
होटल बन्द भइसकेको अवस्थामा उनी होटलको पछाडिबाट भित्र पसेका थिए ।
