
काठमाडौं । सन् १९९३ मा मुम्बईमा शृंखलाबद्ध बम बिस्फोट भयो । यो एक अत्यासलाग्दो र दर्दनाक मात्र होइन, खेदजनक कृत्य पनि थियो ।
त्यसबेला धराप थाप्न आतंककारीले एक हजार किलो आरडिएक्स (विस्फोटक पदार्थ) मुम्बई भित्र्याएका थिए, जसमध्ये मुम्बई हमलामा ४ सय किलो प्रयोग भयो । बाँकी ६ सय किलो आरडिएक्स कहाँ छ ?
यही प्रश्नबाट शुरु हुन्छ फिल्म ‘सूर्यवंशी’को कथा । प्रहरीले सुराक पाएको छ कि, मुम्बईमा अर्को भयानक हमला हुनेवाला छ । र, यसमा त्यही आरडिएक्स प्रयोग गरिँदैछ जो २८ वर्षअघि मुम्बई हमलापछि बाँकी रहेको थियो ।
अब प्रहरी सामुन्ने ठूलो चुनौती खडा छ, लुकाइएको आरडिएक्स पत्ता लगाउने र हिन्दुस्तानका शहरलाई सम्भावित विध्वंशबाट जोगाउने ।
मुम्बईमा भएको बम विस्फोटकको घटना सत्य हो । त्यही घटनामा टेकेर बुनिएको काल्पनिक कथाले ‘सूर्यवंशी’लाई डोर्याउँछ । काल्पनिक सही, सूर्यवंशीले दर्शकको ध्यान भड्काउँदैन । बरु कथाको बेगसँगै एकोहोरो बनाउँछ ।
कोरोना महाव्याधिपछि तहसनहस सिनेमा हल अब के होला ? सर्वत्र चिन्ता र चासो थियो । यसैबीच ओटीटी यस्तो हस्तक्षेपकारी प्लेटफर्मको रुपमा आयो, जसले सिनेमा हलको अस्तित्वमाथि नै प्रश्न उठाइदियो । ओटीटी प्लेटर्फममा धमाधम फिल्म-शृंखला सार्वजनिक हुन थालेपछि यो संशय अरु गाढा बनेको थियो, के साँच्चै मान्छेहरु अब फिल्म हेर्न हलमा जानेछन् ?
‘सूर्यवंशी’ले यो आशंका मेटिदिएको छ । र, जवाफ दिएको छ, ‘जानेछन्, निर्धक्क जानेछन् ।’ यसका लागि एउटै शर्त बाँकी रह्यो, सिनेमा गजब हुनुपर्यो ।
उसो त रोहित सेट्ठीप्रति धेरै अपेक्षा गर्नु बेकार हुन्छ । उनी गहकिलो मुद्दा र घतलाग्दो प्रस्तुति लिएर हम्मेसी आउँदैनन् ।
गाडी अनि पुलिसको आश्चर्यलाग्दो चमत्कार देखाउनु चाहिं उनको निजी विशेषता हो । यद्यपि उनको फिल्ममा केही त त्यस्तो तत्व हुन्छ, जसले दर्शकलाई अविचलित रुपमा हलमा बाँधेर राख्न सक्छ । ‘सूर्यवंशी’ त्यसैको एक दृष्टान्त हो ।
