राजेश हमालले गाएको गीत सार्वजनिक, भिडियोमा अन्य को को छन् ?

१८ कार्तिक २०७८, बिहीबार १४:१६

काठमाडौं । अभिनेता राजेश हमालले पहिलोपटक गाएको गीत सार्वजनिक गरिएको छ । उनले गाएको रोमान्टिक गीत ‘मन बुढो भएन’को भिडियो बुधबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

दीपक शर्माको शब्द तथा संगीतमा राजेशले पहिलोपटक गीत गाएका हुन् ।

नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतमा हमालका साथमा गायक सुवास पुरी तथा गायिकाद्वय एलिना चौहान र बेनिशा पौडेलको स्वर रहेको छ ।

देवेन्द्र पाण्डेले निर्देशन गरेको यस गीतको भिडियोमा हमाल स्वयंले अभिनय गरेका छन् ।

भिडियोमा उनले मोडल रेश्मा घिमिरेसँग अभिनय गरेका छन् ।

उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । चलचित्र करिअरको तीन दशकपछि हमालले पहिलोपटक गीत गाएका हुन् ।