अलमुताइरीले ३ वर्ष नेपाली टिमको लागि बनाए यस्तो योजना

१७ कार्तिक २०७८, बुधबार ०७:२१

काठमाडौं । साफ च्याम्पियनसिपका दौरान नेपाल नफर्किने अभिव्यक्ति दिएका अब्दुल्लाह अलमुताइरी अझै ३ वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक रहने रहने पक्का भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अब्दुल्लाह अलमुताइरीसंग ३ वर्षको नयाँ सम्झौता गर्दै मंगलबार प्रस्तुत गर्‍यो । जसमा एन्फाले अलमुताइरीसंग ३ वर्षको नयाँ सम्झौता भएको र २०२४ को अन्तयसम्म उनी नेपालको प्रशिक्षक रहने जनाएको छ । अलमुताइरीले पनि आफू सन् २०२४ को अन्त्यसम्म नेपाल रहने बताएका छन् ।

यसअघि गत चैतमा एक वर्षका लागि उनी नेपालको प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा नेपालले विश्वकप/एसियन कपको दोस्रो चरणको छनोट र साफ च्याम्पियनसिप खेल्यो ।

नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुर्‍याएर इतिहास रचेका अलमुताइरी त्यसपछि नेपाल नफर्किई कतार लागेका थिए । तर एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघसंगको छलफलपछि उनी नेपालमै कामलाई निरन्तरता दिन सहमत भएका थिए ।

त्यसपछि उनी नेपाल आए । अनि एन्फाले मंगलबार उनको सम्झौताको बारेमा जानकारी दिँदै आगामी योजनाको बारेमा जानकारी दिन अलमुताइरीसंग पत्रकार सम्मेलन आयोजना गरेको हो । जसमा अलमुताइरीले आफू फेरि नेपाल फर्कनुको कारण देखि अबको आफ्नो योजना सार्वजनिक गरेका थिए ।

नेपालले २०२२ मा सन् २०२३ मा चीनमा हुने एसियन कपको अन्तिम चरणको छनोट खेल्दैछ । त्यसका साथै २०२६ को फिफा विश्वकप छनोट र २०२७ को एसियन कप छनोटलाई लक्षित गर्दै अलमुताइरीलाई प्रशिक्षकमा निरन्तरता दिएको हो ।

तीन वर्षको नयाँ सम्झौता गरेपछि अलमुताइरीले आफू नेपाल फर्कँदा खुशी भएको नेपाली जनताको मायाँ र समर्थनले गर्दा नै आफू फर्किएको बताए ।

यसबाहेक उनले खेलाडीहरुलाई पनि आफूले ‘नो’ भन्न नसकेकोले फर्केको प्रतिक्रिया दिए ।

अलमुताइरीको योजना

एकै पटक तीन वर्षको सम्झौता गर्नु भनेको लामो समय हो कम्तीमा नेपालको हकमा । नत्र नेपालमा बढीमा एक वर्षको मात्र सम्झौता हुने गरेको छ । त्यो सकिएपछि प्रशिक्षकले निरन्तरता पाएको उदाहरण धेरै छैन ।

तर अलमुताइरी भने खेलाडी र समर्थक दुबैको माया बटुल्न सफल भए । साथै एन्फाको नेतृत्वले पनि उनलाई समर्थन गरेको छ ।

तीन वर्षको लागि प्रशिक्षक बनेपछि अलमुताइरीले अब तीन चरण बनाएर त्यसअनुसार योजना बनाएर काम गर्ने बताए । त्यसमा उनले पहिलो चरण अर्थात २०२३ को एसियन कपको लागि अन्तिम चरणको छनोटको योजना सार्वजनिक गरे ।

जसमा राष्ट्रिय टिमको प्रशिक्षण गर्ने तालिकादेखि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तालिकासमेत छ ।

उनले सन् २०२२ को जनवरी १४ देखि प्रशिक्षण सुरु गर्ने गरी योजना बनाएको बताए । सन् २०२२ को जुनमा एसियन कपको अन्तिम चरणको छनोट गराउने एएफसीले तयारी गरिरहेको छ ।

यसअघि होम एण्डे अवेका आधारमा हुँदै आएको छनोटका खेलहरु यसपटक केन्द्रिकृत स्थानमा सिंगल सिस्टममा गरिने एएफसीले जनाएको छ । त्यस अनुसार नेपालले जुनमा ३ खेल खेल्नेछ । छनोटको खेल तालिका सार्वजनिक हुन बाँकी छ ।

त्यसबाहेक अलमुताइरीको योजना अनुसार नेपालले २०२२ को सेप्टेम्बरसम्म ८ मैत्रीपूर्ण खेल खेल्नेछ । अलमुताइरीका अनुसार एसियन कपको अन्तिम चरणको छनोट जुनमा नभएर सेप्टेम्बरमा हुने सम्भावनासमेत छ । त्यो भएमा केही फेरबदल हुनेछ ।

एसियन कपको तेस्रो चरणको छनोटमा अलमुताइरीले राम्रो प्रदर्शन गर्दै फिफा वरियतामा सुधार गर्ने लक्ष्य राखेका छन् । जसले गर्दा २०२६ को फिफा विश्वकप छनोटका लागि पनि वरियतामा सुधार होस् भन्ने अपेक्षा छ । यस्तै उनको लक्ष्य छनोटमा तेस्रो हुने भन्ने छ ।

यसअघि अलमुताइरीले एसियन कपमा छनोट हुने लक्ष्य रहेको बताउदै आएपनि उनले यस पटक नेपाल आउँदा नै २०२३ को एसियन कपमा छनोट हुन्छु भन्न नसकिने बताएका थिए । त्यसैले उनले छनोट नै हुने लक्ष्य भने राखेका छैनन् । तर २०२७ को एसियन कपमा भने छनोट हुने लक्ष्य राखेका छन् ।

एसियन कप छनोटको ड्र अघि नेपाल अहिले समूह ४ (पट ४) मा छ । यस समूहमा इन्डोनेसिया पहिलो र नेपाल दोस्रोमा छ । समूह ३ (पट ३) को अन्तिम स्थानमा रहेको सिंगापुरसंगै इन्डोनेसिया र कम्बोडियाले आगामी डिसेम्बरमा एएफएप कप खेल्दैछ ।

त्यसमा यी टिमहरुको प्रदर्शन कमजोर रहेमा नेपाल समूह ३ (पट ३) मा पुग्न सक्ने र त्यसो भएमा एसियन कप छनोटमा सुरुमै बलियो टिमसंग खेल्नुनपर्ने अलमुताइरीको तर्क छ । अलमुताइरीले मंगलबार पहिलो चरणको योजना मात्र सार्वजनिक गरे । बाँकी योजना उनले पछि सार्वजनिक गर्ने बताएका छन् ।