
काठमाडौं । भारतले केही दिनअघि अग्नि–५ क्षेप्यास्त्र परीक्षण गरेपछि चीनले लगातार प्रतिक्रिया दिइरहेको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले भारतको क्षेप्यास्त्र परीक्षणका विषयमा केही दिनयता लेखिरहेको छ । कतिपय समाचारमा चीनको विनाशकारी क्षेप्यास्त्र र त्यसको दायराका विषयमा चर्चा गरिएको छ ।
भारतको अग्नि–५ क्षेप्यास्त्रको दायरा पाँच हजार किलोमिटर छ । यसले आणविक र परम्परागत दुवैथरी हतियार बोक्न सक्छ ।
उता चीनको डीएफ–१७ क्षेप्यास्त्रको दायरा १२ हजारदेखि १५ हजार किलोमिटरसम्म छ । यसलाई बेइजिङबाट प्रहार गरिएछ भने पनि भारतको जुनसुकै ठाउँमा आक्रमण गर्न सकिन्छ ।
डोङफेङ–४१ चौथो पुस्ताको सोलिड फ्युलबाट चल्ने अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र हो । यस क्षेप्यास्त्रको सञ्चालन चिनियाँ जनमुक्ति सेनाको रकेट फोर्सले गर्ने गरेको छ ।
२१ मिटर लामो र २.२५ मिटर गोलाइ भएको क्षेप्यास्त्रलाई ट्रक माउन्टेड लोन्चरमार्फत जहाँ पनि लग्न सकिन्छ । यसको गति प्रतिघन्टा ३० हजार किलोमिटरभन्दा बढी छ ।
चीनको डोङफङ३१ क्षेप्यास्त्रको दायरा सातदेखि आठ हजार किलोमिटर छ । यसले पनि आणविक आक्रमण गर्न सक्छ । तेस्रो पुस्ताको यो क्षेप्यास्त्रले १ मेगाटन थर्मोन्युक्लीयर हतियार लैजान सक्छ ।
यसको अधिकतम गति आठ किलोमिटर प्रतिसेकेन्ड छ । यसलाई मिसाइल साइला र ट्रक माउन्टेड प्लेटफर्मबाट लोन्च गर्न सकिन्छ । यसको लम्बाइ १३ मिटर र तौल ४२ टन जति छ ।
अमेरिकालाई समेत चीनको डीएफ–१७ हाइपरसोनिक मिसाइलबाट खतरा रहेको बताइन्छ । त्यसैले गर्दा अमेरिकाले मिसाइल डिफेन्स टेक्नोलोजी अप्ग्रेड गर्ने कोशिश गरिरहेको छ । यस हाइपरसोनिक मिसाइलले लामो दूरीसम्म सटीक निशाना लगाउन सक्छ ।
यस्तो स्थितिमा अमेरिकाले ग्वाम वा जापानमा रहेको अड्डाको सुरक्षाको लागि बलियो व्यवस्था गर्नुपर्ने हुन्छ ।
