
एजेन्सी ।
तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलोपटक सार्वजनिक स्थानमा देखिएका छन् ।
उनले जन्मभूमि कन्दहारमा समर्थकहरूलाई सम्बोधन गरेका छन् । सन् २०२० मा नै उनको मृत्यु भइसकेको भनी दाबी गरिएको थियो तर त्यो झूटो साबित भएको छ ।
अगस्ट महिनामा तालिबानले काबुल कब्जामा लिएपछि अखुन्दजादाको भूमिकामा विषयमा विभिन्न दाबी गरिएको थियो ।
तालिबानले जानकारी दिएअनुसार, शनिवार अखुन्दजादाले लडाकू र बहादुर सैनिकहरूसँग कुरा गर्न दारुल उलूम हकीमा मदरसाको भ्रमण गरेका थिए । उक्त क्रममा उनले गरेको सम्बोधनको रेकर्डिङ तालिबानको सामाजिक सञ्जालमा अप्लोड गरिएको छ ।
दश मिनेटको रेकर्डिङमा अखुन्दजादाले मारिएका तालिबान लडाकू, घाइते भएका मुजाहिद्दीन र अफगानिस्तानको इस्लामी अमिरातको पुनर्निर्माणमा संलग्न मानिसहरूको सफलताका लागि प्रार्थना गरे ।
कार्यक्रमको सुरक्षा कडा भएकाले भिडियो र तस्वीर सार्वजनिक गरिएको छैन ।
अखुन्दजादालाई अमीरुल मोमिनीन अर्थात् बफादारहरूको प्रमुख भनी चिनिने गरेको छ । त्यसअघि यो पदवी तालिबानका संस्थापक मुल्ला उमरलाई दिइएको थियो ।
लो प्रोफाइल राखेर अखुन्दजादाले तालिबानलाई जीतका लागि प्रेरित गरेका थिए । उनले गर्दा नै हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दीन हक्कानी र मुल्ला उमरका छोरा मुल्ला मोहम्मद याकूबबीच तनाव नबढेको बताइन्छ ।
