पेट्रोलियको मुल्यवृद्धि खारेज नगरे कडा प्रतिवाद गर्न नेविसंघ बाध्य हुने

१४ कार्तिक २०७८, आईतवार १८:४३

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि खारेज गर्न माग गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आइतबार विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णयप्रति खेद प्रकट गरेका हुन् ।

जनताको ढाड सेक्ने गरी कोही कसैबाट पनि भएका निर्णय नेविसंघलाई मान्य नहुने विज्ञप्तिमा उल्लेख छ । सरकारले तत्काल हस्तक्षेप गरी पेट्रोलियम पदार्थमा नेपाल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न नेविसंघले जोडदार माग गरेको छ । ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज होस् । अन्यथा कडा प्रतिवाद गर्न बाध्य हुनेछौं ,’ विज्ञप्तिमा भनिएको छ ।

शनिबार ६ वटा विद्यार्थी संगठनले पनि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए ।

शुक्रबार आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको थियो ।