माधव नेपाललाई ठूलो पिर, हुलमुलले भुलेर एसमा गइएछ भन्दै केन्द्रीय सचिव नै एमालेमा

११ कार्तिक २०७८, बिहीबार १३:४२

File Photo

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नवगठित नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई छाडेर पार्टीका नेता कार्यकर्ता पुरानै पार्टीमा जान थालेका छन् ।

नेकपा एमाले फुटाएर नेपालले आफ्नो टीमसहित नयाँ दल खोलेका थिए । तर, एमालेबाट नेताकार्यकर्ता प्रवेश गराई पार्टी बलियो बनाउनुपर्ने बेलामा उल्टै अध्यक्ष नेपालको पार्टीबाट नेताहरू एमालेमा फिर्ता हुन थालेका छन् ।

नेकपा एस निकट युवासंघका केन्द्रीय सचिव उपेन्द्र शाही एमालेमै फर्किएका छन् । उनी दैलेखको दुल्लु नगरपालिका–१० का स्थानीय वासिन्दा हुन् ।

पार्टी विभाजनका बेला हुलमुलमा परेका कारण अर्को पार्टीमा लागेपनि भित्री राजनीति बुझेपछि मूल पार्टीमा फर्किएको शाहीले स्पष्ट पारेका छन् ।
एस पार्टीको दैलेखस्थित आठबीस नगर कमिटीका अध्यक्ष छत्र माझी एमालेमै फर्किएका छन् ।

एक प्रेस विज्ञप्ति जारी गर्दै माझीले समाजवादी पार्टीको नेतृत्वमा वर्गीय आन्दोलन सफल नहुने भएकाले मूलघरमै फर्किएको जनाएका छन् । माझीले आगामी दिनमा एमालेमा निष्ठावान रहँदै काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

भैरवी गाउँ कमिटीको सचिव पदमा मनोनित भएका तिलकप्रसाद जैसीले समेत समाजवादी त्यागेर एमालेमा समाहित भएको बताए । जैसीले आफू राजनीतिक कारणले पार्टी विभाजनको समयमा समाजवादीमा लागेको बताउँदै आगामी दिनमा एमालेको पूर्ववत् जिम्मेवारीमा फर्कंदै काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

साविक भैरवी गाविस–१ बाट एमालेको उम्मेदवार बनेर २०५४ सालमा वडाध्यक्ष जितेका राजाराम जैसीले समेत मूलघरै फर्किएको जनाएका छन् । यसरी एकीकृत समाजवादी खुलेको केही महिनामै कमजोर बन्न लागेको देखिएको छ ।