पछिल्लो समय किन घट्यो सेयर बजार ?

५ कार्तिक २०७८, शुक्रबार १४:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन २९ गते चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर बजारमा १२ करोडको सीमा लगायो । मौद्रिक नीतिमा केन्द्रीय बैंकले एक लगानीकर्ताले सेयर धितो राखेर सेयरमै लगानी गर्न बढीमा १२ करोड ऋण लिन पाउने व्यवस्था गरेको थियो । र, उक्त ऋण पनि एउटा बैंकबाट नभई ३ वटा बैंकबाट लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । यो व्यवस्थाले सेयर बजारलाई घटाउन महत्वपूर्ण भूमिका खेलेको लगानीकर्ता छोटेलाल रौनियारले बताए ।

यसअघि, नेपाल धितोपत्र बोर्डले असारमा ५१ वटा कम्पनीको सूची निकाल्दै जोखिमयुक्त कम्पनी घोषणा गरेको थियो । उक्त घोषणापछि सेयर बजारमा ठूलै गिरावट आएको थियो । ‘धितोपत्र बोर्डले नियमविपरित ५१ वटा कम्पनीको नामै तोकेर सूची निकाल्दै जोखिमयुक्त कम्पनी भनेपछि बजार प्रभावित भएको थियो,’ रौनियारले भने, ‘बोर्डले सुरु गरेको बजार घटाउने खेलमा मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले प्रवेश गरेको थियो ।’

सेयर धिता कर्जामा सीमा तोक्नुका साथै चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जा–पूँजी निक्षेप अनुपात (सीसीडी) रेसियोलाई निक्षेप कर्जा अनुपात (सीडी) रेसियो बनाएपछि बजारमा तरलता चाप बढ्यो । फलस्वरुपः बजारमा लगानीयोग्य रकम अभाव भयो र सेयर बजार प्रभावित बन्यो ।

यससँगै मौद्रिक नीतिको व्यवस्था हटाउन, अर्थमन्त्री जर्नादन शर्मा र गर्भनर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै लगानीकर्ता अनसन बसे । यसले समेत बजार घट्नमा सहयोग पु¥याएको लगानीकर्ता स्वयम् स्वीकार्छन् । हुन पनि लगानीकर्ताको काम बजारको सुधारका लागि पहल गर्ने हो । तर, नेपालका लगानीकर्ता अलिकति बजार घट्नासाथ अर्थमन्त्री र गर्भनरको राजिनामा माग्दै कालो पट्टी बाँधेर मोटरसाइकल ¥याली आयोजना गर्दै अनसन बस्ने गरेका छन् । यसका साथै, नेप्से, धितोपत्र बोर्ड र राष्ट्र बैंक कार्यालय घेर्न पुगिहाल्छन् ।

यद्यपि, बजार निरन्तर घट्दै गएपनि नेप्सेमा ‘सेल प्रेसर’ भने देखिएको छैन । २१ अर्ब रुपैयाँसम्मको कारोबार हुन थालेको नेप्सेमा बजार घट्न थाल्दा मुस्किलले ३ अर्ब रुपैयाँको कारोबार हुन थालेको छ । यसबाट लगानीकर्ताले तत्काल आफूसँग भएको सेयर होल्ड गर्ने मुड बनाएको प्रष्ट हुन्छ । नेप्से परिसूचक आज १४ अंकले घट्दा पनि मुस्किलले साढे २ अर्ब रुपैयाँको कारोबार भएको छ ।