
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च विन्दु (अलटाइम हाइ) बाट २० प्रतिशतले घटेको छ । नेपालको सेयर बजारको अहिलेसम्मको इतिहासमा नेप्से सूचक भदौ २ गते सबैभन्दा उच्च बिन्दु अर्थात ३१ सय ९८ अंकमा पुगेको थियो । त्यसको दुई महिनाभित्रै पूँजीबजार २० प्रतिशतले घटेर २५ सय ५६ अंकमा आइपुगेको हो । अन्तरराष्ट्रिय सेयर बजारमा उच्च बिन्दुबाट २० प्रतिशत बजार घटेपछि त्यसलाई ‘बियरिस ट्रेण्ड’ सुरु भएको मानिन्छ । तर, विदेशी बजारको मनोविज्ञानले नेपालको सेयर बजारलाई प्रभाव नपर्ने र सोही नियम लागू नहुने सेयर विश्लेषकहरु बताउँछन् । यद्यपि, जुन गतिले सेयर बजारमा वृद्धि आएको थियो – त्यही गतिमा बजार निरन्तर ओरालो लागिरहेको छ ।
सेयर विश्लेषक प्रकाश तिवारीले विदेशी बजारमा निम्तिने बियरिस ट्रेण्डको नियम नेपालको बजारमा नसुहाउने बताउँछन् । उनका अनुसार विदेशी मुलुकको सेयर बजार र नेपालको सेयर बजार पूर्णतः फरक छ । त्यसैले विदेशी बजारलाई हेरेर नेपालको बजार विश्लेषण गर्न नहुने उनको तर्क छ ।
यही बीच निरन्तर दुई महिनादेखि घटिरहेको नेप्से सूचकलाई थेग्ने नेपाल राष्ट्र बैंकको प्रयाससमेत विफल भएको छ । अहिलेसम्मकै उच्च विन्दुमा पुगेको नेप्से भदौ २ गतेयता दसैं अघिसम्म निरन्तर ओरालो लाग्दै बन्द भएको बजार दसैँपछि बढ्ने आंकलन लगानीकर्ताको थियो । दसैंको खर्च जोहो गर्नका लागि नेप्सेमा परेको ‘सेल प्रेसर’लाई दसैं लगत्तै ‘बाई प्रेसर’ले पेल्ने आंकलन लगानीकर्ताको थियो ।
लगानीकर्ताको आंकलन अनुसार दसैँपछि कारोबार भएको पहिलो दिन असोज ३१ गते बजारमा १७ अंकको सुधार आयो । तर, चालू आर्थिक वर्षको सुरुवातदेखि नै बढ्न थालेको तरलता चापलाई धान्न वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि निक्षेपमा दिने ब्याजदरमा युद्ध छेडे । जसले नेप्से सूचक कात्तिक १ गते ६९ र २ गते ७७ अंकले घट्यो ।
निक्षेपको ब्याजदर बढेपछि निश्चितरुपमा कर्जाको समेत ब्याज बढ्ने भएपछि आत्तिएका लगानीकर्तालाई कात्तिक २ गते साँझ केन्द्रीय बैंकले ढाडस दिने प्रयास गरेको थियो । निक्षेपको ब्याज बढाएका बैंकहरुलाई २४ घन्टा भित्र निर्णय फिर्ता लिन तीन बुँदे कडा निर्देशन दिँदै बजार थाम्ने प्रयासमा केन्द्रीय बैंक लागिपरेको थियो ।
राष्ट्र बैंकको निर्देशनको प्रभाव हिजो (कात्तिक ३ गते) बजारमा देखियो पनि । कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेप्सेको सबै समूहमा हरियाली छाउँदै परिसूचक ६० अंकले बढेको थियो । तर, यो वृद्धि एक दिन पनि टिक्न सकेन । र, सूचक हिजो (बिहीबार) १४ अंकले घट्यो ।
