
एजेन्सी ।
उत्तर कोरियाले बुधवार पनि नयाँ र सानो ब्यालिस्टिक क्षेप्यास्त्र एक पनडुब्बीबाट प्रक्षेपण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले खबर दिएको छ ।
मंगलवार पनि उत्तरले पनडुब्बीबाट ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले बताएको थियो ।
अमेरिकाले उत्तर कोरियालाई थप उत्तेजक गतिविधि नगर्नका लागि आग्रह गरेको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन पिसाकीले उत्तर कोरियासँग हतियारका विषयमा कूटनीतिक वार्ता गर्न अमेरिका तयार रहेको बताएकी छन् ।
प्योङयाङले अमेरिकाका यी प्रयासलाई अस्वीकार गर्दै आएको छ । अमेरिका र दक्षिण कोरियाले सैन्य गतिविधिमार्फत तनाव चर्काएको अनि मुखले चाहिँ कूटनीतिक वार्ता गर्न चाहेको भन्दै उत्तर कोरिया चिढिएको हो ।
उत्तर कोरियालाई वार्तामा फर्काउनका लागि वाशिङटनले उसमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने दक्षिण कोरियाका परराष्ट्रमन्त्री चुङ युई–योङले बताएका छन् ।
अमेरिका र बेलायतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा बुधवार उत्तर कोरियाको पछिल्लो परीक्षणको विषय उठाउने अपेक्षा छ ।
