मोटरसाइकल सिटि सफारीमा ठोक्किँदा युवकको मृत्यु

२ कार्तिक २०७८, मंगलवार १२:४३

फाइल तस्बिर

काठमाडौं । सुनसरी र लमजुङमा भएका दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका १६ जालपा पेट्रोल पम्पस्थित सडकमा को.४ प ६८९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई प्रदेश नम्बर १(०२(००३ ह ३०७८ नम्बरको सिटि सफारीमा ठोक्किएर सोमबार राति दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक रामधुनी नगरपालिका(१ बस्ने २२ वर्षीय मुकेश सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरेहको छ । सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता लमजुङको मर्स्याङदी गाउँपालिका(३ हाईस्कुल डाँडास्थित सडकमा ग।१ त ५५६५ नम्बरको ट्याक्टर सोमबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक दोर्दी गाउँपालिका ४ शेरा बस्ने २१ वर्षीय मन बहादुर गुरुङको मृत्यु भएको छ ।

उक्त ट्याक्टरमा फलाम लैजाने क्रममा ओरालोमा फलाम अगाडि जाँदा फलाममा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।