नेप्से परिसूचक उच्च अंकले घट्यो, असर के को ?

१ कार्तिक २०७८, सोमबार १५:१६

फाइल तस्बिर

काठमाडौं । बैंकको ब्याजदर वृद्धिको असर शेयर बजारमा देखिएको छ । बैंकिङ क्षेत्रमा तरलता अभाव हुँदा अहिले बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन् । निक्षेपको ब्याजदर पछिल्लो तीन वर्ष यताकै उच्च देखिएको छ ।

यसको नकरात्मक असर अनुरुप शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ ।

नेप्से परिसूचक ६९ दशमलव ५१ अंकले घटेर २ हजार ५ सय ८७ दशमलव ४५ अंकमा झरेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ४३ अंकले घटेको छ ।

कारोबार रकममा पनि उल्लास देखिएन । दिनभर भएका ४० हजार ४ सय १ कारोबारबाट ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपैयाँमा रोकिएको छ ।