आणविक वैज्ञानिक डा. अब्दुल कादीर खानको मृत्यु

२४ आश्विन २०७८, आईतवार १६:५६

 

एजेन्सी ।

पाकिस्तानका आणविक वैज्ञानिक डा. अब्दुल कादीर खानको आइतवार बिहान मृत्यु भएको छ ।

८५ वर्षका खानको स्वास्थ्य बिग्रेपछि इस्लामाबादस्थित स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।

सन् १९३६ मा भारतको भोपालमा जन्मिएका खान सन् १९४७ मा भारत विभाजन भएपछि परिवारसहित पाकिस्तान गएका थिए ।

सन् १९९८ मा भारतले आणविक परीक्षण गरेलगत्तै पाकिस्तानले पनि आणविक परीक्षण गरेको थियो । त्यस परीक्षणका लागि खानले वर्षौंदेखि मेहनत गरेका थिए ।

त्यस परीक्षणपछि खान रातारात पाकिस्तानका नायक भएका थिए । उनलाई मोहसिन ए पाकिस्तान भनी उच्च सम्मान दिइएको थियो ।

उक्त परीक्षणपछि पाकिस्तान मुस्लिम विश्वको एक्लो आणविक शक्ति बनेको थियो ।

खानले आणविक बम बनाउने प्रविधि नेदरल्यान्ड्सको एम्स्टर्ड्यामबाट सेन्ट्रीफ्युज प्रविधि चोरेको आरोप लागेको थियो ।