ग्वाटेमालामा कन्टेनरमा राखिएका नेपालीको प्रहरीले गर्यो उद्धार

२४ आश्विन २०७८, आईतवार १६:३४

एजेन्सी । ग्वाटेमालामा प्रहरीले शनिवार सडकको किनारमा रहेको एक शिपिङ कन्टेनरमा राखिएका आप्रवासीहरूलाई प्रहरीले उद्धार गरेको खबर बीबीसीले दिएको छ

ती आप्रवासीहरूमा नेपाली पनि थिए ।

उनीहरूलाई नुएभा कन्सेप्सियोन र कोकालेस शहरको बीचमा रहेको स्थानबाट उद्धार गरिएको हो । कन्टेनरबाट मानिसहरू चिच्याएको आवाज आएपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए ।

उनीहरूलाई मानवतस्करहरूले परित्याग गरेको ग्वाटेमालाका अधिकारीहरूको विश्वास छ । उनीहरूलाई मेक्सिकोको बाटो हुँदै अमेरिका पुर्‍याउन खोजिएको थियो ।

त्यहाँ रहेका १०० भन्दा बढी मानिस हाइटीका थिए । अनि नेपाल र घानाका मानिस पनि त्यहाँ थिए ।

यस विषयमा प्रहरीका एक प्रवक्ताले बताए, ‘कन्टेनरभित्रबाट मानिस कराएको र भित्ता ठोकेको आवाज आइरहेको थियो । हामीले ढोका खोलेर हेर्दा कागजात नभएका १२६ जना मानिस भेट्यौं ।’

अधिकारीहरूले आप्रवासीलाई प्राथमिक उपचार गराए र ग्वाटेमालान माइग्रेसन इन्स्टिच्युटले उपलब्ध गराएको आश्रयस्थलमा राखे ।

ग्वाटेमालाको आप्रवासन अधिकरणकी एक प्रवक्ता अलेहान्द्रा मेनाले ती आप्रवासीहरू होन्डुरसबाट आएको र अमेरिका जाने कठिन बाटोमा हिँड्न थालेको बताइन् ।

आप्रवासीहरूलाई होन्डुरसतर्फ पठाइनेछ र अधिकारीहरूलाई हस्तान्तरण गरिनेछ ।