अर्जेन्टिना भने पाराग्वेसँग गोलरहित, ब्राजिल अपराजित

२२ आश्विन २०७८, शुक्रबार १७:२४

 

काठमाडौं । भेनेजुएलालाई हराउँदै ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोट खेलमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

एक गोलले पछि परेको स्थिति उल्टाउँदै ब्राजिलले भेनेजुएलालाई ३–१ गोलले हराएको हो ।

खेलको ११ औँ मिनेटमा एरिक रामिरेजले भेनेजुएलालाई अप्रत्याशित अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको अन्त्यतिर ब्राजिलले लगातार गोल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल रह्यो ।

मार्किन्होसले खेलको ७१ औँ मिनेटमा बराबरी गोल फर्काए भने ग्याब्रियल बारबोसाले ८५ औँ मिनेटमा पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाए । इन्जुरीमा एन्टोनीले अर्को गोल थप्दै ब्राजिलको जीत सुनिश्चित गरे ।

उता, अर्जेन्टिना भने पाराग्वेसँग गोलरहित बराबरीमा रोकिएको छ ।

खेलमा नियन्त्रण बनाए पनि अर्जेन्टिनाले गोलका अवसरहरू सदुपयोग गर्न असफल रह्यो । त्यस्तै, उरुग्वे र कोलम्बियाले गोलरहित बराबरी खेलेका छन् ।

९ खेलमा ९ मा नै जीत हासिल गर्दै ब्राजिल २७ अङ्कसहित तालिकामा शीर्ष स्थानमा रहेको छ ।

१९ अङ्कसहित अर्जेन्टिना दोस्रो स्थानमा रहेको छ । उरुग्वे र कोलम्बिया क्रमशः चौथो र पाँचौँ स्थानमा छन् ।