
काठमाडौं । साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन केन्द्र नेपाल (सीएसआरआई) र नेपाल कम्प्युटर इमर्जेन्सी रेस्पन्स टिम (एनपीसर्ट) को संयुक्त आयोजनामा नेपालकै प्रथम अन्तर्विषयक पियर रिभ्यू साइबर सेक्युरिटी जर्नल प्रकाशन हुने भएको छ ।
बढ्दो अनलाइन कारोबार र सुचना प्रबिधि क्षेत्रमा देखा परेका नविनतम सेवा सुविधासँगै थपिएका सांगठनिक, व्यवसायिक एवं राष्ट्रिय साइबर सुरक्षा चुनौतीहरुलाई अवसरमा बदल्न अनुसन्धानमार्फत नेपाललाई आवश्यक पर्ने साइबर सुरक्षा एवं प्रतिरक्षा नीति, जनशक्ति, प्रविधि, व्यवस्थापकीय तथा कानूनी ज्ञान आवश्यक रहेकाले जर्नल प्रकाशन गर्न लागिएको प्रधान सम्पादक डा।राजीब सुब्बाले बताए।
जर्नलको मुख्य उद्देस्य साइबर सेक्युरिटी एवं सुचना तथा संचार प्रविधि क्षेत्रमा कार्यरत विज्ञ, जनशक्ति तथा विश्वविधालयका बिद्यार्थीहरुलाई आफ्नो कार्य वा शोधपत्र प्रकाशन गर्ने, विज्ञहरुको पृष्ठपोषण लिने र शोधपत्र प्रशारण गर्ने फोरम प्रदान गर्नु रहेको जानकारी उनले बताए।
जर्नलमा सूचना प्रबिधि क्षेत्रमा देखिएका जोखिम ब्यबस्थापन, साइबर हाइजिन, साइबर सेक्यूरिटी रणनीति, साइबर डिफेन्स, साइबर कानुन, साइबर आपतकाली रेस्पन्स केन्द्र, डिजिटल फोरेन्सिक, संगठनिक एवं व्यापार निरन्तरता र विपद उद्धरण, आइओटि, ब्लकचेन, बिश्वका बिकसित मुलुकका अभ्यासहरु आदि सम्बन्धमा अनुसन्धानमुलक लेख रचनाहरु आह्वान गरिएको छ ।
नेपाल कम्प्युटर इमर्जेन्सी रेस्पन्स टिम (एनपीसर्ट) का अध्यक्ष एवं उक्त जर्नलका प्रबन्ध निर्देशक चिरन्जीवी अधिकारीका अनुसार त्रिभुवन विश्वविद्यालयमार्फत डिजिटल अब्जेक्ट पहिचान तथा आइएसएसनम्बर प्राप्त गरी आगामी छ महिना भित्र जर्नल प्रकाशन गरिने सुब्बाले जनाए ।
संचार तथा सूचना प्रबिधि मन्त्रालयका सहसचिब अनिल कुमार दत्त साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्टको संयुक्त सहकार्यमा साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपालकै प्रथम साइबर सेक्युरिटी जर्नल साइबर सुरक्षा चुनौती ब्यबस्थापन र अवसर सिर्जना गर्न कोशे ढुंगा साबित हुने बताउँछन् ।
प्रा. डा सुबर्ण शाक्यले प्रकाशन हुन लागेको जर्नल साइबर सुरक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै अब्बल जर्नल बनाउने प्रतिबद्धता व्यक्त गरे।
